सूचनाको शक्ति - The Power Of Information

        

मौसम

देशका विभिन्न क्षेत्रमा भारी वर्षा

सडक तथा हवाई यातायातसँगै पर्वतारोहणसमेत प्रभावित हुनसक्ने, सतर्क रहन आग्रह

देशका विभिन्नि भागमा आज बिहानैदेखि पानी परिरहेको छ । काठमाडौं उपत्यकामा तीन दिनदेखि लगातार पानी परिरहेको छ । आज बिहान पनि काठमाडौंमा पानी परिरहेको छ । काठमाडौँसँगै अन्य विभिन्न भू–भागमा पानी परिरहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वाग्मती, मधेस प्रदेश र प्रदेश–१ का एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहन जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । औसत समय अनुसार नेपालबाट मनसुन बाहिरिसक्नु पर्ने भए पनि यो वषै केही ढिलासम्म मनसुन रहने पनि मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०७:४७