क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् । कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान विमानस्थलमा प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गर्ने बताइएको छ ।
केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटस लेख्दै लामिछानेले ठूलो आशा र शक्तिका साथ नेपाल आउन लागेको र आफूविरुद्धको आरोपविरुद्ध कानुनी लडाई लड्ने उल्लेख गरेका थिए ।
‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।
‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु,’ उनले लेखेका थिए, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’
उनले कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने संयन्त्रको मागसमेत गरेका छन् । पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि सन्दीप नेपाल नआएपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिने समाचार आएका केही दिनपछि लामिछाने आफै नेपाल आउने बताएका हुन् ।
सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका सन्दीपविरुद्ध २१ भदौमा एक नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
सत्यपाटी । काठमाडौं ।