दशैंको मुख्य दिन अर्थात् विजयादशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ ।
नौ दिनसम्म दशैं घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजयादशमीमा टीका लगाएर मनाइन्छ ।
विजयादशमीमा साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटलाई उत्तम साइत तोकेको थियो ।
घटस्थापनाका दिन दशैं घर अथवा पूजा कोठामा स्थापना गरिएको दुर्गा भवानीलाई नौ दिनसम्म पूजा अर्चना गरेको जमराका साथै दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ ।
रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
दशैंंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशीर्वचन विशेष महत्व छ ।
दशैं हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा छ । घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकोमा पुगेर टीका र आर्शीवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ ।
नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।
यसैबीच, नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।
महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो ।
निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् । दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्र चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दशैँमा झरी परेका कारण टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।
सत्यपाटी । काठमाडौं ।