सरकारी तथा निजी विद्यालयले वडा दशैंको विदा घटस्थापनादेखि दिएका छन् । अधिकांश विद्यार्थीहरू दशैं मनाउन गाउँ गएका छन् । तर, विद्यार्थी बालबालिकाहरू रमाइलो गर्ने रहरसँगै ‘दशैं होम वर्क’को बोझ पनि बोकेर गएका छन् भने केही विद्यार्थीहरू शहरमै दशैं मनाउँदै छन् ।
विद्यालयले दशैं होमवर्क भनेर नै सबै विषयको होम वर्क दिएको छ । दशैंको बेला रमझम अनि रमाइलो गर्ने बेला होम वर्ककै तनाव विद्यार्थी बालबालिकालाई छ । नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार सरकारी विद्यालयभन्दा अधिकांश निजी विद्यालयले बालबालिकाहरूलाई होम वर्कको भारी बोकाएका छन् ।
जसकारण विद्यार्थीहरू चाडपर्वका बेला रमाइलोमा भुल्नुभन्दा मानसिक तनाव लिन बाध्य छन् । गोकर्णेश्वर नगरपालिकाको एक निजी विद्यालयका छात्रा भन्छिन्, ‘सबै विषयको होम वर्क दिएको छ, त्यही भएर गर्नैपर्छ, नगरे शिक्षकले सजाय दिने भन्नुभएको छ ।’
‘दशैं मनाउने हो, होमवर्क दिएर तनाव दिने होइन’
अभिभावक महासंघका अध्यक्ष भण्डारी दशैंको बेला होम वर्क दिनु भनेको विद्यार्थीहरूलाई मानसिक तनाव दिनु सरह रहेको बताउँछन् । ‘दशैंमा किन छुट्टी दिएको ?, होमवर्क गर्न होइन नी, दशैं मनाउन लागि विदा दिएको हो, पिङ खेल्ने, पारिवारिक भेटघाट गर्ने हो, त्यसैले अनावश्यक होम वर्क दिँदा विद्यार्थीहरूले मानसिक तनाव लिन्छन्,’ उनले भने ।
उनका अनुसार सरकारले सांस्कृतिक पर्व मनाउन १५ दिनदेखि १ महिना छुट्टी दिएको हो । ‘यदि विद्यालयले होम वर्क दिने नै भए फर्केर आउँदा कसरी मनाए ?, दशैंको किन आवश्यक रह्यो ?, रहनसहन के छ ? भनेर प्रोजेक्ट वर्क लेख्दा वा लेखाउँदा राम्रो हुन्छ, तर सबै विषयको होम वर्क दिने होइन,’ उनले भने । उनले यी होम वर्क पनि स्कुलको तहगत रुपमा दिइनुपर्ने माग गर्छन् ।
‘कति उमेर समूहका बच्चाले कति लेख्न सक्छन्, त्यही आधारमा होम वर्क दिनुपर्छ,’ उनले भने, ‘तर, यहाँ प्रत्येक विषयको कपी भर्ने गरेर दिने गरिएको छ, बिहानदेखि बेलुकासम्म तनाव मात्रै हुन्छ ।’ उनले पहिला निजी विद्यालयमा पिट्नेदेखि मानसिक तनाव दिने समस्या अहिले सामुदायिक विद्यालयमा पनि सरेको बताए । उनले भने, ‘यो चरम अप्राकृतिक, अमानवीय, अशैक्षिक गतिविधि हो ।’
शिक्षाविद् भन्छन्, : किताबको होम वर्क दिने होइन, प्रोजेक्ट वर्क गराउने हो
शिक्षाविद् प्राडा विनयकुमार कुसियत दशैंको बेला विद्यार्थीहरूलाई होम वर्क दिनु गलत रहेको बताउँछन् । उनका अनुसार दशैं भनेको सबै सर्वसाधारण रमाउन, रमाइलो गर्न बिदा दिइएको हो । उनी सुनाउँछन्, ‘स्कुललाई बढी होम वर्क दिने मानसिकता छ, यस्तो गर्ने होइन, जति सिकाउने हो विद्यालयमा मात्रै सिकाउने हो, घरमा त अभिभावक वा अरुले पो नजानेका कुराहरू सिकाउने हो ।’
उनी दशैंको बेला होम वर्कभन्दा पनि प्रोजेक्ट वर्क गराउनुपर्ने सुझाउँछन् । ‘किताबभित्र रहेको पाठ्यक्रमको होम वर्क दिने होइन,यस्तो बेला कसरी चाडपर्व मनाए भन्ने खालका प्रोजेक्ट वर्क गराउनुपर्छ,तर यहाँको हाम्रो शिक्षा प्रणाली घोकन्ते छ,’ शिक्षाविद् प्राडा कुसियत भन्छन् ।
विद्यार्थीले पढाइ नर्बिसिउन भनेर होम वर्क दिएका हौं : प्याब्सन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय महासचिव आरबी कटुवाल भने विद्यालय बिदाको बेला सिकाइएको पढाइ नर्बिसिउन भनेर होम वर्क दिइने गरेको तर्क गर्छन् । ‘धेरै लेख्ने खालको होम वर्क दिएर विद्यार्थीहरूलाई मानसिक तनाव दिइएको छैन,’ उनले भने, ‘एक एक पेजको होम वर्क हुन्छ, छिट्टै सकाउँछन्, अहिले त अधिकांश विद्यालयले चाडपर्वको बारे प्रोजेक्ट वर्क मात्रै गरेर ल्याउनु भन्ने गरेका छन् ।’
सत्यपाटी । काठमाडौं ।