यतिखेर सबैतिर दशैंको रौनकता छाएको छ । घरघरमा मिठामिठा परिकार पाकेका छन्, परिवारजन र आफन्त मिलेर रमाइलो गरिरहेका छन् । हरेक ठाँउमा किनमेल गर्नेको भीड छ । पैसा हुनेहरुका निम्ति दशैं खुसीयाली लिएर आएको छ । तर, पैसा नहुने के दशैं के चाडबाड ? कोही टन्न खाएर रमाइलो गरिरहेका छन् भने कोही भोको पेट बाटोमा मागिरहेका छन् । चाडबाड आए पनि उनीहरुलाई केही फरक परेको छैन् । बिहानदेखि सडक छेउछाउ मागेर बस्छन् । दिए खान्छन् नदिए भोकभोकै बस्छन् ।
खुट्टामा एकजोर चप्पल छैन, नयाँ लुगाको त कुरै छोडौं । दशैंको मुखमा समेत घरघरमा माग्न हिँडेका छन् । दशैंमा घरघरमा खसी काटिन्छ । नयाँ लत्ताकपडा, गाडी किन्नेलगायत घरमा आवश्यक पर्ने सामान किन्ने पैसा हुन्छ । यद्यपि, कोही माग्न आयो भने घरको गेट लगाइदिन्छन् । मठमन्दिरमा दर्शन गर्ने जानेहरु टन्न हातभरि फलफुल बोक्छन् । चढाउन पैसा हुन्छ । तर, माग्ने मान्छे देख्यो भने चानचुन छैन भनेर हिँड्छन् । गरिबको कोखबाट जन्म लिनु अपराध हो ? कति गरिबको कोखबाट जन्मे । बाबुआमाले पनि मागेर खाए उनीहरुले पनि त्यही सिके । हिजोका अर्बपति आज सडकमा आइपुगेका छन् ।
केही विकल्प नभएपछि मात्र सडकमा माग्न आउने हो । मागेर खान कसलाई रहर लाग्छ ? सबै ढोका बन्द भएपछि लाज पचाएर माग्ने हो । मागेर खानेलाई घरजग्गा जोड्नु छैन् । मागेर भोक मेटिएला भनेर बाटोमा माग्न बस्छन् । दिनभरि मागेर बिहानबेलुका पेटमा अन्न हाल्न सकिन्छ कि भनेर माग्न बसेका हुन्छन् । त्यही पनि शान्तिसंग माग्न पाए त हुन्थ्यो । माग्नेलाई कसैले मान्छे नै गन्दैनन् । राष्ट्रपति आउनुअगावै मन्दिरबाट लखेटिन्छन् । चोरेर खाएको, लुटेकोजस्तो गरेर माग्ने मान्छेलाई हेर्छ, नेपाली समाज । तर, उसले मागेर खानु पछाडिको कारणचाहि हेर्दैनन् । अहिले सबैलाई दशैं लागेको छ । सबैको घरमा मिठोमसिनो पाकेको छ । टन्न खाएर बाँकी भएको जति फोहोरमा लगेर हाल्छन् । तर, दशैं त सबैको चाड हो । आफू आधा पेट खाएर अर्कोलाई खान दिदाँ ऊ पनि खुसी हुन्छन् ।
विडम्बना, नेपालीमा त्यस्तो सोचाइ छैन । घरमा माग्न आएकालाई जुन व्यवहार यिनीहरुले देखाउछन्, त्यो एकदमै अपमानजनक हुन्छ । आफ्नो जीऊमा राम्रो लुगा लगाएका हुन्छन् तर माग्न आउनेलाई अलिकति सहयोग गरौं भन्ने भावना नेपालीमा छैन । आखिरी नेपालीहरुमा मानवता हराएकै हो ? बाटोमा माग्ने जनता होइनन् ? उनीहरुका लागि सरकार कहाँ छ ? पुँजीपतिको मात्र सरकार हो ? नेपालीहरुको महान् चाड दशैं हो । दशैं त सबैको चाड हो । मागेर खाने पनि मान्छे हुन् । मान्छे भएपछि एउटा आश हुन्छ । सरकारले केही व्यवस्था गर्ला भनेर यिनीहरुले पनि सोचेका थिए, होलान् । तर, यिनीहरुको आश निराशामा बद्लिएको छ । सरकारले यिनीहरुलाई जनताको दर्जा नै दिएन । दशैं अवधिभर खाने, लाउने र बस्ने व्यवस्था सरकारले मिलाइदिनुपथ्र्यो ।
घाम होस् या पानी उनीहरुलाई केही फरक परेको छैन् । बाटोमै खान्छन्, त्यही बस्छन् र सुत्छन् । उनीहरु जन्मिने पनि बाटोमै, मर्ने पनि त्यही बाटोमै । जाडो होस् या गर्मी उनीहरुले सदाबहार एउटै च्यातिएको लुगा लगाउछन् । न उपचार न कुनै सेवासुविधा । नागरिकता, जन्मदर्ता नभएकाले उनीहरुले भत्ता पनि पाएका छैनन् । भत्ताले उनीहरुलाई अलिकति भए पनि राहत हुन्थ्यो । बाबुआमा जाँडरक्सी खाँदाखाँदै बाटोमै मर्छन् । अनि तिनका बालबच्चाको जीवन पनि बाटोबाट शुरु हुन्छ । त्यस्तालाई कसले जन्मदर्ता दिने ? जन्मदर्ता नभएपछि नागरिकता बन्दैन । तर, सरकारले पनि कहिले उनीहरुलाई नागरिकता दिनुपर्छ । तिनीहरु पनि देशका नागरिक हुन् । अरुले राज्यबाट पाउने सेवासुविधा तिनले पनि पाउनुपर्छ भनेर सोचेन् । बरु, उल्टो उनीहरुलाई थिचोमिचो गर्यो ।
मागेर खानेहरुको राष्ट्रपति छैन् । कि धनी र गरिबको राष्ट्रपति बेग्लाबेग्लै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई मागेर खानेहरुको प्रश्न,‘हामी नेपाली होइनौं ? हामीलाई यत्रो हेला किन ?’ सरकारले माग्नेहरुलाई नागरिकताको व्यवस्था गरिदिनुपथ्र्यो । सरकार गरिब जनताको पनि अभिभावक बन्न सक्नुपथ्र्यो । नागरिकता दिँदा उनीहरुले देश नै पो बेच्ने जस्तो गर्यो सरकारले । यता, काठमाडौंमा पाँच वटा घर हुनेहरुले मासिक भत्ता बुझ्छन् । सरकारी जागिरबाट पेन्सन खाइरहेकाहरुले समेत सरकारबाट पाउने एक रुपैयाँ पनि छोड्दैनन् । तर, ती गरिबले के पाए । सित्तैमा पाउने औषधी सबै टाठाबाठाले लिन्छन् । गरिब त्यहाँ पनि हेरेको हेप्र्यै । धनीलाई छुटैछुट, गरिबलाई जताबाट पनि लुट । उनीहरुलाई भाग्यले ठगेको छ, राज्यले हेला गरेको छ ।
बाटोमा मागेर खानेहरुको अवस्था हेर्न पनि नसकिने खालको छ । शरीरभर झिँगा, लामखुट्टेले बासस्थान बनाएको छ । पूरा शरीर ढाँक्ने कपडासमेत उनीहरुसंग छैन् । हप्तामा एकदिन खाना खान्छन् होला । मागेर खानु बाध्यता हो भनेर किन कसैले बुझ्दैनन् ? पाँच रुपैंया दान दिँदा गरिब हुन्छ ? नचाहिदो ठाउँमा पैसाको खोला बगाउन त हामीहरु अब्बल छौं । सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाउने नेपाल सरकार मागेर खानेहरुका लागि केही व्यवस्था मिलाउदैनन् । माग्नेलाई दिन भनेपछि सबै दाँतबाट किन पसिना आँउछ ? ठूलाले दिँदैनन्, सानालाई पनि सिकाउँदैनन् । माग्नेलाई देख्यो कि छुट्टै बाटो हिँड्छन् । माग्नेहरुले भनेको बेलामा पानीसमेत पिउन पाउँदैनन् । नेपालीहरु यतिसम्म चुत्था भएका छन् कि घरमा माग्ने आयो भने गेट लगाइदिन्छन्, कुकुर छोडिदिन्छन् ।
पछिल्लो समय घरघरमा मँहगामँहगा कुकुर पाल्ने चलन बढेको छ । कुकुरले जे जे खान्छ त्यही खान दिने । नुहाइदिने, सफा गरिदिने, डुलाउन लिएर जाने । अझ हुँदाहुँदै कुकुरलाई लुगा लगाउने जमाना पनि आएको छ । त्यसो त मान्छेलाई कुकुरभन्दा पनि तल्लो दर्जामा राख्न थालिएको छ । खान नसकेर टोकरीमा लगेर फ्याकिदिन्छन् । एकचोटि लगाएका नयाँ लुगा फोहोरमा लगाएर फ्याक्छन् । तर, खान फ्याँक्नुको साटो कसैको भोको पेट भर्दा धर्म हुन्थ्यो । आफ्नो आधा शरीर देखाएर हिँड्नेहरुले पूरै ढाँक्न पाउथे । नेपालमा यत्रो गैरसरकारी संस्था खुलेका छन् । तर, त्यो पनि सबै कमिशनमा लिप्त छन् । एनजिओहरु गरिबको नाम बेच्छन् अनि डलर ल्याएर पचाउँछन् । पूराना लत्ताकपडा उठाएर गाउँगाउँमा पुर्याइदिने हो भने कसैले शरीर छोप्न पाउथे ।
घरघरबाट अलिअलि चामल उठाएर गाँउगाँउ पुर्याऔं । वृद्धवृद्धालाई एक छाक खाना खुवायो भने फोटो खिचेर चर्चामा आउन खोज्छन् । यता, सरकारले पनि विकास भएकै क्षेत्रमा बजेट खन्याँउछ । कतै बजेटको खोलो लागेको छ कतै सुख्खाराम । जुन जिल्लामा सरकारले बजेट छुट्याएको छैन् त्यहाँको अवस्था एकदमै नाजुक छ । किन कि त्यहाँ रोजगारी छैन्, उद्योग छैन् । सरकार र राजनीतिक दलहरुले समेत माग्ने मान्छेलाई समेत भेदभाव गरेको छ । माग्ने मान्छेसंग नागरिकता छैन्, भोट दिने अधिकारबाट उनीहरु वञ्चित छ । भोट पाएको भए नेताहरुले गन्थे, उनीहरुको कुरा सुन्थे । करमा बिकेको सरकारलाई उनीहरुको चासो नै रहेन् । कर तिर्नेलाई वर्षमा १० चोटि दोसल्ला ओडाउँछ, सम्मान गर्छ । तर, माग्नेलाई फुटेको आँखाले पनि हेर्दैन् । भुपु राष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख सवारी हुनुपर्यो भने बाटो पहिल्यै खाली गराउँछन् ।
सुकिलामुकिलाहरुले आखिरी त्यस्तै हेर्न चाहन्छन् । देशमा गरिब छन् भनेर यिनलाई के थाहा ? गरिब भनेको के हो ? यिनलाई थाहा छैन । तर, गरिबको नाम बेच्नचाँहि जानेका छन् । टन्न खाएर अघाएकाहरुले अरुलाई पनि अघाएकै देख्छ । भोकोले मात्र भोको पेटको बारेमा चर्चा गर्ने हो । गरिब पृष्ठभूमिबाट आएको भए पो उनीहरुको व्यथाबारे पत्तो पाउथे । आजसम्म कुनै नेताले माग्ने मान्छेलाई भनेर आफ्नो तलबभत्ता त्याग गरेका छन् ? त्यस्तो नेता नेपालमा छैनन् । राजनीतिक दल, सरकारी कर्मचारी र व्यापारीहरु धनी भए । तर, गरिब नागरिक भmनै गरिब हुँदै गए । नेपालको सडकभर माग्ने छन् भनेर विदेशी मुलुकमा समेत चर्चा चलेको छ । तर, देशकै नेतालाई थाहा छैन् । मुलुक सम्हाल्न बसेकाहरुले अब आफ्नो तलबभत्ता त्याग गर्नुपर्छ । जागिर खान नेता बनेको अवश्य पनि होइन् होला । अहिले त जो पनि तलब भत्तामा बिकेका छन् । राजनीति भनेको सेवा हो, राजनीतिज्ञहरुले सेवाभाव राख्नुपर्छ ।
आज दशैंको सबैभन्दा महत्वपूर्ण दिन । आफूभन्दा ठूलो र मान्यजनको हातबाट टीका लगाउने र आर्शिवाद थाप्ने भएकाले आज सबैतिर चहलपहल छ । टीका थाप्नका लागि आफ्नो आफन्त कँहा जानेको भीड आज थेगिनसक्नु हुन्छ । बाटोघाटोमा बिहानैदेखि एकदमै चाप छ । पानी परेपनि टीका लगाउने जानेहरुको बसस्टपमा कोचाकोच छ । हातमा सामान लिएर घण्टौं गाडी कुरिरहेका छन्, सर्वसाधारण । यातायात व्यवस्था विभागले घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक यातायातको रोड परमिट खुला गरिदिएको छ । उपत्यकाका यात्रु बोकेर विभिन्न रुटमा चल्ने लोकल गाडीहरु बाहिरी जिल्ला पुगेका छन् । जसका कारण उपत्यकामा गाडीको अभाव सिर्जना भएको छ । गाडी नपाएर दुई घण्टासम्म बसस्टपमा कुर्नुपर्ने बाध्यता छ । बल्लतल्ल एउटा गाडी आएपनि चढ्न सक्ने स्थिति छैन ।
यता, सरकारी गाडी थन्केर बसेको छ तर चलाउनका लागि कसैले चासो दिएन । सर्वसाधारणको सहजता हेरेर न सुरक्षा निकायको गाडी चलाइयो न अन्य सरकारी निकायको । यसअघिको दशैंमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको बस चलाउने चलन थियो । तर, यो चोटि त त्यस्तो केही पनि निर्णय भएन । गाडी ग्यारेजमा थन्केर बसेको छ, सर्वसाधारणलाई गाडी नपाएर सास्ती भएको छ । यता, बसले पनि मनलाग्दी भाडा असुलिरहेको पाइन्छ । सरकारले एक–पाँच किलोमिटरसम्म २० रुपैयाँ तोकेपनि सहचालकले दोब्बर भाडा लिइरहेका छन् । दाउरा मिलाएजसरी यात्रु मिलाएका छन् । गाडी चालकलाई कमाउने मौका, यात्रुको बाध्यता । ढोकासम्म यात्रु झुण्डिएका छन् । अप्रिय घटना घट्ने हो कि भनेर त्राहिमाम भएर यात्रा गर्न बाध्य छन्, सर्वसाधारण ।
दिँउसो १२ बजे टीका भएपनि टाढाटाढा पुग्नेहरु उज्यालो भएदेखि बसस्टपमा उभिएका छन् । झोला, बालबच्चा बोकेर पानीमा रुझीरुझी बसस्टपमा गाडी कुरेर बसेको दृश्य अत्यन्तै कहालीलाग्दो छ । ट्याक्सी चढ्ने हैसियत सबैसंग छैन् । हिँडेर जान सम्भव छैन् । अन्ततः विकल्प भनेको सार्वजनिक यातायात नै हो । ज्यान जोखिममा हालेर ढोकामा उभिएर भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ । अघिपछि एक्लै हिँडेपनि दशैंमा पूरै परिवार नै टीका लगाउन हिँडेका छन् । घरमा जति पनि सदस्य छन् सबै बसस्टपमै देखिन्छन् । तर, सर्वसाधारणको दुःख हैरानी कसले देख्ने ? विगत झैं योचोटिको दशैंमा पनि धेरै अप्रिय घटना घट्यो । न दुर्घटना कम भयो न बढी भाडा लिनेलाई कारबाही भयो । एक हजार भाडा तोकेकोमा तीन हजारसम्म तिर्न बाध्य भए, सर्वसाधारण ।
ट्राफिक प्रमुख मीरा चौधरी र विभागका महानिर्देशक टोकराज पाण्डेय कतिसम्म असफल रहेछन्, यो छर्लङ्ग भएको छ । नैतिकताको आधारमा पनि यी दुईले राजनीमामा दिनुपर्छ । गृहमन्त्री बालकृष्ण खाण र यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले प्रमुख चौधरी र महानिर्देशक पाण्डेयलाई तत्कालै सरुवा गर्नुपर्छ । गाडीको सीटभन्दा बढी यात्रु खाँद्दा, पूराना गाडी चलाउन दिँदा यात्रुले अकालमा ज्यान गुमाउनुपर्यो । दशैं मनाउन गएकाको घरमा रुवाबासी चल्यो । बढी भाडा तिरेर पनि उही थोत्रा गाडीमा यात्रा गर्नुपर्यो । जनतालाई सरकारले सहजता र सुरक्षाको अनुभुति दिलाउन सकेन् । दशैंमा दुर्घटनामा परेर यत्रो जनताले ज्यान गुमाए । यसको जिम्मेवारी कसले लिने ? यातायात मन्त्री राईले कि गृहमन्त्री खाणले । उनीहरुको लापरवाहीले गर्दा दशैं मनाउन खुसी भएर गएकाको परिवार आज शोकमा डुब्यो ।
बाहिरी मुलुकमा आफ्नो कारणले एक जनाको पनि मृत्यु भयो भने पद त्याग गरिदिन्छन् । नेपालमा बरु श्वास छोड्छन् तर मन्त्री पद छोडदैनन् । मन्त्री पद छोड्नुपर्दा रुवावासी गर्नेहरु पनि देखिए । पद भएसम्म टिकटक बनाएर बस्दै ठिक्क भो, अनि पद छोड्नुपर्दा रोएर उल्का । यस्ता मन्त्री भएको देश कहिले उँभो लाग्ला ? जनता मरिरहेका छन् तर सरकार निरीह भएर हेरिरहेको छ । यसअघि पनि दशैंमा पनि धेरै अप्रिय घटना घटेको थियो । विडम्बना, कसैले पाठ सिकेनन् । लापरवाहीका कारण दुर्घटना भएको थाहा हुँदाहुदै फेरिपनि उही गल्ती दोहोर्याउनु लज्जास्पद विषय हो । चाडबाडमा सुरक्षाका निम्ति भनेर सरकारका पदाधिकारीहरु हरेक वर्ष नाटकी बैठक बस्छन् । निर्णय पनि गर्छन् तर कार्यान्वयनमा ल्याउदैनन् । जसको नतिजा हरेकचोटि जनताले भोगेका छन् ।
सरकारले गाडीमा अनिवार्य दुई वटा चालक राख्ने भनेको थियो । तर, चालक निदाएर गाडी दुर्घटनामा परेको बाहिर आयो । ठाँउठाँउमा गाडी चेक गर्ने भनेपनि कतै ट्राफिक देखिएन् । बाटोमा थोत्रा, पुराना र कबाडी गाडी गुडेको प्रष्टै देखियो । अगाडिपछाडि सिसा फुटेको, सीट भाँच्चिएका, नम्बर प्लेट मेटिएको, टायर खिएको गाडी गुडेको जनताले देखे तर अनुगमन गर्ने निकायले देखेन । सरकारले २० वर्षे गाडी विस्थापन गर्ने निर्णय गरेको छ । तर, साढे दुई दशक नाघेका गाडीहरु बाटोमा गुडेका छन् । त्यस्ता सवारीलाई त कारबाही गर्नुपर्ने हो । सम्बन्धित निकाय कतिखेर दुर्घटना होला ? भनेर रमिता हेरेर बसिरहेको छ । कानून कार्यान्वयनमा लैजान नसक्ने, नियमन र कारबाही पनि गर्न नसक्ने । यस्ता नालायक ट्राफिक प्रमुख, विभागका डिजीलाई पदमा बस्न नैतिकताले दिन्छ ?
सरकारले जहिले पनि यातायात व्यवसायीको पक्षमा उभिएर निर्णय सुनाएको छ । सर्व साधारणलाई सरकारले गन्दै गन्दैन् । सर्वसाधारण मरोस् कि बाचोस् सरकारको चासोको विषय रहेन् तर यातायात व्यवसायी खुसी हुनुपर्यो । ढोकैसम्म यात्रु हालेका छन्, जथाभावी भाडा लिइरहेका छन् । उनीहरुको बोलीव्यवहारमा कुनै परिवर्तन आएको छैन् । अहिले पनि गल्ती गर्ने सवारी साधनलाई पाँच सय रुपैयाँ लिएर छोड्ने गरिन्छ । पाँच सय रुपैयाँ जरिवाना लिन्छन् अनि छोडिदिन्छन् । जसले गर्दा यातायात व्यवसायीको मनोबल झनै बढ्यो । जाबो पाँच सय रुपैयाँ हो भन्छन्, गल्ती दोहोर्याएको दोहोर्याइ गर्छन् । २०४९ सालदेखि ट्राफिकले लिने जरिवाना बढेको छैन् । जरिवाना बढाउन ट्राफिक प्रहरी महाशाखा असफल रह्यो तर पटकपटक भाडा बढाउन यातायात व्यवसायी सफल भए । ट्राफिकले जरिवाना बढाएर १० देखि १५ हजार पुर्याइदिने हो भने कसैले गल्ती नै गर्दैन ।
यातायात क्षेत्रमा जति बेतिथि सायदै कँहीकतै होला । सरकारले यातायात क्षेत्र चलाउने जिम्मा नै व्यवसायीको हातमा सुम्पिएको छ । उनीहरुले जे भन्यो यहाँ त्यही हुन्छ । दशैंको मौका छोपेर ट्याक्सी, बसलगायत अन्य सार्वजनिक सवारीले दोब्बर भाडा लिइरहेका छन् । अघिपछि पाँच सय रुपैयाँ तिरे पुग्ने बाटोमा आज यात्रुले हजार तिरेका छन् । पठाओले पनि मनलाग्दी भाडा असुलिरहेको छ । देशभर आठ लाख मोटरसाइकल–स्कुटरले पठाओमार्फत यात्रु बोक्छन् । एउटा पठाओको दैनिक आम्दानी तीनदेखि पाँच हजार हो । दशैंको मौका छोपेर यिनीहरुको कमाइ झनै बढेको छ । न यिनीहरुले लगानीको राजस्व तिर्छन् न आम्दानीको । यता, पठाओहरु सबै रातो प्लेटमा दर्ता भएका छन् । कानूनमा रातो प्लेटमा दर्ता भएकाले यात्रु बोक्न नपाउने भनेर स्पष्ट रुपमा उल्लेख छ । कि त कालो प्लेटमा दर्ता गर्नुपर्यो कि तत्काल चलाउन बन्देज लगाउनुपर्यो । सरकारले कुनै नीतिनियम बिना पठाओ सञ्चालन गर्न दिएको छ ।
यसबाट यातायातका डिजी पाण्डेय र ट्राफिकको चौधरी मालामाल भएका होलान् तर राज्य कंगाल भएको छ । पठाओ चलेको झण्डै तीन वर्ष बित्न लागिसक्दा पनि भाडा निर्धारण हुन सकेको छैन । न कालो प्लेटमा दर्ता गरेर राज्यले राजस्व उठाउन सक्यो । पठाओ कम्पनीले मनग्य आम्दानी गरिरहेको छ तर राज्यले शुको पनि राजस्व पाएको छैन् । पठाओलाई राजस्वको दायरामा ल्याउने हो भने राज्य धनी बन्छ । ट्याक्सी पनि मिटरमा गुड्न मान्दैन् । ट्याक्सी चालकको जिब्रोले जति भन्छ त्यति भाडा तिर्नुपर्छ । ट्याक्सीको भाडा तोक्नु नै बेकार भएको छ । यता, मिटर राखेर पनि के गर्नु ? कहिले सञ्चालनमा आउने होइन । सरकारले अनुगमन नगर्दा ट्याक्सी व्यवसायीको मनोमानी चलेको छ । सरकारले सिण्डिकेट हटायो भनेर के गर्नु, यात्रुले नयाँ ट्याक्सी देख्न पाएका छैनन् । विगत ३५ वर्षदेखि ट्याक्सीमा सिण्डिकेट छ । उपत्यकामा जनसंख्या छ करोड, ट्याक्सीको संख्या छ नौ हजार । ट्याक्सीलाई लुट्ने छुट सरकारले नै दिएको छ । थोत्रा ट्याक्सीको मँहगो शुल्क तिर्न यात्रु बाध्य छन् । पाँच सयको बाटोमा १५ सय माग्छन् । ट्याक्सीको दादागिरी बन्द गर्न सरकार असफल भएको छ ।
Design : Aarush Creation
अनुसा थापा ।