सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन–आलेख

अभूतपूर्व पर्यटकीय रुट बन्दै डोल्पा

उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा हुँदैन । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुन्छ ।

डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन् । पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउन्छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दो छ ।

दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले इन्टरनेट सेवासमेत पुगेको छ । उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । ‘धो’ आफैँमा सुन्दर फाँट छ । उपल्लो डोल्पाको चर्चित ठाउँ हो । अहिले धो पहेँलपुर हँुदै उवा बाली पोकेको छ ।

कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउने क्रममा छन् । उवा उपल्लो डोल्पाको मुख्यबाली हो । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ । वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्राउने गरिन्छ ।

धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँ लगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्न देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पा सर्वसाधारण जाने गर्दछन् । उपल्लो डोल्पालाई चिनाउन बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् ।

मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लासम्म फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ ।

उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बा यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदामा सूचीकृत गर्न सिफारिस गरिएको छ ।

जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले आधा वर्ष खेतीबाली हुँदैन ।

उवा बाली भित्राएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेँसी झर्छन् । सर्वसाधारण आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउँछन् । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा हुँदैन । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुन्छ ।

चारैतिरबाट सडक सञ्जालले जोड्ने प्रयास

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्न काम जारी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्«याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण जारी छ ।

उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवन धेरै सहज हुने पूर्वमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ ।

भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण जारी छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ ।

यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ । यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो ।

यार्सागुम्वासहित अन्य मुल्यवान जडीवुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको संख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार ०८:४९