हाल देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा सामान्य तथा बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमतीका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूवार्नुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै, राति प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्यदेखि पुर्ण बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।
तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अझै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन लम्बिँदा यसपालि ’हिले दशैं’ बनेको छ ।
सत्यपाटी । काठमाडौँ ।