हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ला गरिएको छ । भक्तजनहरु आज बिहानैदेखि लाम लागेर मन्दिरमा पूजपाठ तथा दर्शन गरेका छन् ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।
दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
सत्यपाटी । काठमाडौँ ।