सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन । समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ ।

निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए । समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन् । बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ ।

हिजो नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले संशोधित सूची बुझाइसकेका छन् । संशोधित सूचीमा नाम परेका उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा भोलि असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने र भोलि नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यसूची छ ।

यस्तै असोज २० देखि २२ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सम्बन्धित समूहको अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतवार ०८:१२