काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौंको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ ।
यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ ।
पोका पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए ।
पश्चिम नेपाल जान कलङ्की पुगेकी निर्मला शर्माले टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताइन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए ।
बिहीबार ७१ हजार ७०० यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उहाँको अनुमान थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ ।
यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् । आजदेखि दसैँ बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो ।
कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ?
ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार ७२९ वटा सवारी साधानमा ४५ हजार ८२३ यात्रु भित्रिएका थिए भने आठ हजार ९०४ सवारी साधनमा ६० हजार ८४१ यात्रु बाहिरिएका थिए । असोज ११ गते आठ हजार ४२७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएकोमा नौ हजार १६१ सवारी साधनबाट ६२ हजार ४३२ यात्रु बाहिरिएको अभिलेख छ ।
यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार २६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २१९ सवारी साधनमार्फत ७४ हजार ३६२ यात्रु बाहिरिए ।
असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार ३४० यात्रु भित्रिँदा १० हजार २६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।