सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रालयमै कमाउधन्दा

टि-सर्ट र कप बेच्दै सामाजिक विकास मन्त्रालय !

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विज्ञापनमा तोकेको टि–सर्टको मूल्य अनुसार ३१ सय रुपैयाँदेखि ५५ सय रुपैयाँसम्मका छन् ।

सरकारका मन्त्रालय, मन्त्री र सरकारी कर्मचारीको काम के होला ? मन्त्रालयले ऐन, नीति, नियम र विषयगत योजना निर्माण गर्ने हो । सरकारले बनाएका ऐन, नीति, नियम र विषयगत योजना कार्यान्वयन गर्ने जिम्मा सरकारी कर्मचारीको हो ।

ऐन, नीति, नियम र विषयगत योजना निर्माण गरेर विकास र समृद्धिमा लाग्नुपर्ने मन्त्रालय, मन्त्री र सरकारी कर्मचारीले टि–सर्ट विक्री गर्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले टि–सर्ट र कप विक्री गरिरहेको छ ।

नोभेम्बर १९७२, आई एम नट ५०, आई एम १८ विथ ३२ एअर्स अफ एक्सपेरियन्स (NOVEMBER 1972, I AM NOT 50, I AM 18 WITH 32 YEARS OF EXPERIANCE) लेखिएको टि–सर्ट र कप विक्रीका लागि मन्त्रालयको फेसबुक पेजमा विज्ञापन गरिएको छ ।

मन्त्रालयले फेसबुक पेजमा राखेको विज्ञापन अनुसार उक्त टि–सर्टको मूल्य साइज अनुसार २३.९९, २४.९९, २६.९९, २७.९९, ३२.९९ र ४१.९९ अमेरिकी डलर तोकिएको छ भने कपको मूल्य १९.९९ अमेरिकी डलर तोकिएको छ ।

मन्त्रालयले विज्ञापनमा तोकेको टि–सर्टको मूल्य अनुसार ३१ सय रुपैयाँदेखि ५५ सय रुपैयाँसम्मका छन् भने कपको मूल्य २६ सय रुपैयाँ तोकिएको छ । सामाजिक विकास मन्त्रालयले यो विज्ञापन राखेपछि अहिले मन्त्रालयको चौतर्फी आलोचना भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयले टि–सर्ट र कप कुन उद्देश्यका लागि विक्री गर्न खोजिएको खुलाइएको छैन । तर मन्त्रालयले राखेको विज्ञापनमा ‘Special Edition! Not in store ! Order here : Available in many styles and colors !’ भनिएको छ ।

मन्त्रालयकै फेसबुक पेजमा गरिएको विज्ञापनमा कमेन्ट गर्दै टि–सर्टले मन्त्रालय किनिदिएको व्यंग्य गरिएको छ । कमेन्टमा कमलकृष्ण जैसीले लेखेका छन्, ‘सामाजिक मन्त्रालयले टि–सर्ट किन्यो कि टिसर्टले सामाजिक मन्त्रालय किन्यो ?

त्यस्तै ‘सरकारी कार्यालयले पनि विज्ञापन ? त्यो पनि टि शर्टको ?’ फेसबुक पेजमा कमेन्ट गर्दै झलक शाहीले लेखेका छन् भने लालमणी धमलाले ‘फेसबुक ह्याक भएको भनेर सूचना निकाल्न लाग्या होलान् पख्नुस् त पख्नुस्’ भन्दै व्यंग्य गरेका छन् ।

टि–सर्ट विक्रीका लागि विज्ञापन गर्नुको उद्देश्यका बारेमा बुझ्न सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायसँग सम्पर्क गर्न खोज्दा उनको ९८४८०२४६२७ नम्बरमा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १४:५५