सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्व

दशैंको विरासत : ‘गाउँघरमा रौनकता’

दशैंमा गाउँ फर्किने संख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दशैंमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन ।

‘ती पल्ला घरे लाहुरे दाइले
परदेशको कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजू मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन्…’

चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दशैंमा उत्तिकै गुन्जिन्छ । १७ वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दशैंमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा शुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैं ।

अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दशैं घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ र यसरी दशैं घर फर्किने चाडका रुपमा स्थापित भयो ।

दशैं नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दशैंमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दशैंमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।

दशैं गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दशैंलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दशैंमा घर फर्किन्छन् ।

रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दशैंमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएकाहरू घर फर्किने चाडका रूपमा दशैं स्थापित भएको छ । यस बर्षको दशैं सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दशैंको रौनकता पनि सुरु भइसकेको छ ।

हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दशैंमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । शहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदुर, श्रमिकहरू दशैंमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दशैंलाई नेपालीहरूको प्रमुख चाड पनि हो ।

नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दशैं राष्ट्रिय चाडकै रुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दशैंमा गाउँ फर्किने संख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दशैंमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन ।

जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भने, ‘मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दशैंको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दशैंको बेला रौनक छाउँछ ।’

मंगलवार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफु दशैं मान्नकै लागि भारतबाट फर्किएको बताए । उनलाई जुम्ला पुग्ने हतारो थियो । कमाईका लागि उनको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उनी मात्रै गाउँ फर्किएका छन् ।

बालबच्चासहित आउँदा बाटोमा अप्ठेरो हुने भएकाले दशैं मान्न एक्लै घर फर्किएको उनले बताए । ‘वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ,’ उनले भने, ‘सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।’

कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउँछन् । उनले दशैंलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भने, ‘अर्को बर्ष दशैंमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टिका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दशैंमा घर फर्किनैपर्छ ।’

रोजगारीका लागि परदेशिएकाहरूले लामो बिदा नपाउने र यातायात लगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेशिएकाहरू एकैपटक दशैंमा घर फर्किन्थे । तर अहिले यातायात, सडक, पूर्वाधार लगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ ।

शहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दशैं लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दशैं तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् ।

यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएकाहरू यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएकाहरू अहिले दशैं मान्न छर फर्किरहेका छन् । परदेशिएका र शहर झरेकाहरू फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।

दशैंमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दशैं मनाएर भारत फर्किहाल्ने बताउँछन् । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किए । उनले गाउँकै चार जना साथीहरू दशैं मनाउन भारतबाट आएको बताए ।

‘दशैं मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।’ दशैं सुरु भएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ ।

परदेशिएका गाउँका युवाहरुसँगै पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताए । घरबाहिर रहेकाहरु गाउँघरमा फर्किएसँगै स्थानीय बजारहरुमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताए ।

साउनको महिना रोपाइँ सकेर कमाउन भारत गएका दैलेख बाँसीका दिपक खत्री पनि अहिले गाउँ फर्किएका छन् । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उनी भारत गएका थिए । ‘यसपालि खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए,’ खत्रीले भने ।

रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दशैं मान्न घर फर्किएका छन् । परदेश गएकाहरु मात्रै होइन दशैंका लागि तराईबाट पहाड आउने उक्लिनेको संख्या पनि अत्यधिक बढेको छ । अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् ।

रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उनले बताए । दशैंका लागि घर फर्कनेहरु लर्को लागेको बताउँदै सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले भने, ‘अहिले अग्रीम टिकट काट्नुपर्ने बाध्यता छ ।’

अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडीहरू सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, ‘चाडपर्वका समयमा यात्रुहरुको चाप उच्च हुने भएकाले सीट मिलाउनै समस्या छ । जसले गर्दा यात्रुलाई एकदिन अगाडि नै टिकट लिन भनेका छौँ ।’

यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मंगलवार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गरे । दैलेखको डुङ्गेश्वरका डम्मर भण्डारी पनि टिकट नपाएर बसपार्कमा निराश अवस्थामा देखिन्थे ।

यातायात व्यवसायीहरूका अनुसार यात्रुको चाप बढेकोले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिन अगावै टिकट काट्ने गरिएको छ । मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालि सचिव नारायण चपाईले जानकारी दिए ।

संस्कृति बदलियो, विकृति बढ्यो

मिठो मसिनो खाने, कमेरोले घर सिंगार्ने (रंग्याउने), शुभकामना आदानप्रदान गर्ने, चङ्गा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शीवादको टीका थाप्ने आदि दशैंका विशेषता हुन् । तर दशैं विस्तारै फेरिँदै गएको छ । भकारीमा अन्नबाली भित्र्याएसँगै भित्रिने दशैं अहिले मेसिनरी सामान भित्र्याएर शुरु हुन्छ ।

लोप हुँदै गएको दशैंको संस्कृतिसँगै दशैंका बेला आकाशमा चंगा उड्न छाडेका छन्, गाउँघरमा रोटे र लिङ्गे पिङ पनि लोप हुँदै जानुलाई सांस्कृतिक विचलनको नाम दिन्छन्, संगीत तथा संस्कृतिकर्मी कुलमान नेपाली । समय परिवर्तनसँगै संस्कृति संरक्षण गर्नुपर्नेमा विस्तारै लोप हुँदै गएको उनको भनाई छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.७ निवासी नेपाली भन्छन्, ‘हाम्रो संस्कृतिसँगै दशैंको इतिहास नै खतराउन्मुख रहेको छ । हामी यसतर्फ सचेत बनेका छैनौं । दशैं तथा अन्य नेपाली चाडपर्वका संस्कृतिलाई जोगाउन पुराना परम्परा र चलनहरुको निरन्तरता जरुरी छ ।’

शक्ति र हतियारको पूजा गरी मनाइने दशैं नेपालीहरूको मौलिक चाड भएको उनी बताउँछन् । ‘दशैं हाम्रो साँस्कृतिक विरासत बोकेको चाड हो,’ नेपाली भन्छन्, ‘हरेक स्थानमा हरेक क्षेत्रमा केही न केही विकृति हुन्छन्, दशैंमा पनि केही विकृतिहरु बढ्दै गएका छन्, यसतर्फ हामी सचेत हुनुपर्छ ।’

स्रोत : दशैं गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दशैंलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दशैंमा घर फर्किन्छन् ।
प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १३:५५