सूचनाको शक्ति - The Power Of Information

        

हिमालपारिको गाउँ लिमीमा खाद्यान्न पठाइयो

फाइल तस्वीर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले हिमालपारिको गाउँ लिमीका लागि खाद्यान्न पठाएको छ । ढिलो गरी पठाउँदा हिमपात हुने सम्भावना भएको हुँदा अहिले नै खाद्यान्न पठाइएको खाद्य कम्पनीले जनाएको छ ।

शाखाका प्रमुख कृष्णप्रसाद अधिकारले हिमपात भएपछि नाम्खा गाउँपालिका–६, लिमीका लागि खाद्यान्न पठाउन समस्या हुने देखिएपछि हाललाई लिमीको बिक्री केन्द्रका लागि १२० क्विन्टल खाद्यान्न पठाइएको जानकारी दिए ।

शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून भएका बेला लिमीको समस्यालाई समाधान गर्न खाद्यान्न पठाउनुपरेको उनले बताए । लिमी बिक्री केन्द्रका लागि खाद्य कम्पनीले यस वर्ष पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको छ । उनले त्यसैबाट पछि कट्टी हुने गरी खाद्यान्न लिमी पठाइएको बताए ।

लिमीका लागि निर्धारित कोटाको खाद्यान्न हवाई मार्गबाट सिमकोट ढुवानी भएर पैदल मार्गबाट लिमी पुर्याउनुपर्नेछ । अघिल्लो वर्ष लिमी बिक्री केन्द्रका लागि केरुङ नाकाबाट तिब्बती मार्ग भएर ढुवानी गर्ने व्यवस्था खाद्य कम्पनीले गरेको भए पनि कोरोनाका कारण नाका बन्द हुँदा सो खाद्यान्न ढुवानी हुन सकेन ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले यति खाद्यान्न लिमी पुगेपछि हाललाई समस्या समाधान हुने बताए । गाडीमा लगिएको खाद्यान्न लिमी पुगेपछि घरधुरी अनुसार वितरण गरिनेछ । केही दिनअघि हिमपात हुँदा लिमीमा पाक्नै लागेको उवाबालीमा समेत क्षति पुगेको थियो । खाद्यान्न समस्या हुने चिन्ता थपिएको बेलामा लिमीका लागि खाद्यान्न पठाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०७:५२