सूचनाको शक्ति - The Power Of Information

        

युरोपेली नेताद्वारा युक्रेनी भूमिको ‘अवैध’ कब्जाको निन्दा

युरोपेली सङ्घका नेताहरूले युक्रेनको दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रुसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रका नेताहरू सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘युक्रेनको दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रुसले गरेको गैर–कानुनी कब्जाको हामी दृढतापूर्वक अस्वीकार र भत्र्सना गर्दछौँ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर र युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तहरूको खुलेआम उल्लङ्घन गरेर रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारिरहेको छ ।’

सदस्य राष्ट्रहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको यस थप उल्लङ्घनको बहानाको रूपमा ‘रुसले गरेको अवैध जनमतसङ्ग्रह’ लाई कहिल्यै मान्यता नदिने बताएका छन् । सदस्य राष्ट्रहरूले उक्त निर्णयलाई अमान्य भन्दै यसले कुनै पनि कानुनी प्रभाव पार्न नसक्ने बताएका छन् । विज्ञप्तिमा थप भनिएको छ, ‘क्रिमिया, खेरसन, जापोरिजझिया, दोनेत्स्क र लुहान्स्क युक्रेन हुन् । हामी सबै राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई यस अवैध विलयलाई स्पष्ट रूपमा अस्वीकार गर्न आह्वान गर्दछौँ ।’

‘रुसको आक्रामक युद्धका साथै मस्कोको पछिल्लो तनावको सामना गर्दै युरोपेली सङ्घ युक्रेन र यसका जनताको साथमा दृढतापूर्वक उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको पक्षमा अडिग छौँ । युक्रेनले आफ्नो भूभागमा पूर्ण नियन्त्रण हासिल गर्न रुसी आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्ने आफ्नो वैधानिक अधिकार प्रयोग गरिरहेको छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र कब्जा गरिएका क्षेत्रहरूलाई मुक्त गर्ने अधिकार छ ।’

‘क्रेमलिनले दिएको आणविक धम्की, सैन्य परिचालन र युक्रेनको भूभागलाई रुसको भू–भागका रूपमा गलत रूपमा प्रस्तुत गर्न खोज्ने रणनीति र अब रुसको भूमिमा युद्ध हुन सक्छ भन्ने धारणाले हाम्रो सङ्कल्पलाई हल्लाउने छैन,’ विज्ञप्तिमा उल्लेख छ । युरोपेली परिषद्ले रुसको गैरकानुनी कदमको प्रतिकार गर्ने प्रतिबन्धात्मक कदमलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । यसले रुसमाथि उसको आक्रामक युद्ध अन्त्य गर्न थप दबाब बढाउनेछ ।

ईयूले युक्रेनको साथमा दृढतापूर्वक उभिएको र युक्रेनलाई बलियो आर्थिक, सैन्य, सामाजिक र वित्तीय सहयोग प्रदान गर्न जारी राख्ने दोहोर्याएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया गरी चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्दै ‘लाखौँ जनताको इच्छा यही’ भएको बताएका थिए । ‘रुसका चार वटा नयाँ क्षेत्र छन्,’ पुटिनले सेन्ट जर्ज हलमा रहेको युक्रेनी भूभाग कब्जा गर्ने घोषणा गर्दै गरेको लामो भाषणमा भने ।

अल जजिराका अनुसार उक्त भाषणमा उनले युक्रेन र उसका पश्चिमा मित्रराष्ट्रका बारेमा अत्यन्त आलोचनात्मक भनाइहरू राखेका थिए । पुटिनले भने, ‘यी चार वटा क्षेत्रका बासिन्दा अब सदाका लागि रुसका नागरिक हुनेछन् । पुटिनले दोनेत्स्क र लुहान्स्क मिलेर बनेको पूर्वी युक्रेनका जनता ‘कीभ शासनले गरेको अमानवीय आतङ्कवादी आक्रमणको सिकार भएको’ दाबी गरे । उनले जनमत सङ्ग्रहको परिणामलाई ‘लाखौँ जनताको इच्छा’ पनि भनेका थिए ।

राष्ट्रपति पुटिनले युक्रेनको जापोरिजझिया र खेरसन क्षेत्रको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन् । यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रुसको नियन्त्रणमा रहेका तर युक्रेनले दाबी गरेको चार क्षेत्रहरूमा रुसको जनमतसङ्ग्रहका लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०७:३९