सूचनाको शक्ति - The Power Of Information

        

व्यापारीका पीडा

महँगीले चाडपर्वमै सुस्तायो व्यापार, फुर्सदिला व्यवसायी

दशैंमा व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपालि व्यापारमा निकै मन्दी छाएको छ ।

‘बैंकले ऋण दिएको छैन, महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,’ सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भने, ‘विगतका दशैंमा राम्रै व्यापार हुन्थ्यो, यस बर्ष व्यापार छैन ।’

ठूला चाडपर्व सुरु भएसँगै व्यवसाय सुधार हुने कोइरालाको अपेक्षा थियो । ‘बरु गत वर्ष कोरोना महामारीमा पनि ग्राहकको योभन्दा धेरै चहल–पहल थियो । अहिले दशैं सुरु भइसक्दा पनि खासै व्यापार भएको छैन,’ उनी भन्छन्, ‘अहिले पनि बजार सुनसान छ, व्यापार व्यवसायले गति नलग्दा घाटा दिन दुई गुणा रात चौगुणाले बढेको बढ्यै छ ।’

न्यू सुशील इम्पोरियमका सञ्चालक अनिता कोइराला दशैंमा झन् व्यापार घटेको बताउँछिन् । कोरोना संक्रमणको समयमा समेत राम्रो व्यापार भएको बताउँदै कोइरालाले भनिन्, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, दशैंमा व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपालि व्यापारमा निकै मन्दी छाएको छ ।’

दैनिक बिक्रीको हिसाब हेर्दा सटर भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनले बताइन् । विगतका वर्षहरूमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सरसामान किन्ने उपभोक्ताको भिड हुन्थ्यो, फेन्सी तथा रेडिमेट व्यवसायीहरू दोब्बरभन्दा बढी कारोबार गर्थे । अहिले त्यस्तो अवस्था नरहेको कोइरालाले बताइन् ।

कपडाको व्यापार गर्ने कोइराला अघिल्ला वर्ष कोलिया र पेटीमा ग्राहकको भिड लाग्ने गरे पनि यसपटक पसल सुनसान हुने गरेको बताउँछिन् । बजारको माहोल बुझेर यसपालि उनले नयाँ सामान कम हालेकी छन् । ‘महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन,’ कोइराला भन्छिन् ।

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका फेन्सी व्यवसायी अजयकुमार गुप्ता पनि अहिले किनमेल गर्नेहरू घटेको बताउँछन् । हालसम्म नयाँ सामान ल्याउन नसकेको उनले बताए । ‘व्यापार पहिलेभन्दा पनि खस्केको छ,’ गुप्ता भन्छन्, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन ।’

व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामानसमेत बेच्न नसकेको उनले बताए । ‘बैंकले ऋण दिएको छैन । किराना व्यवसायीलाई केही सहज छ, अन्य व्यवसायीलाई समस्या छ । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो नहोला । अन्य क्षेत्रको व्यापार भने निरासाजनक छ,’ गुप्ताले भने ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर बजारमा यस बर्ष अपेक्षित कारोबार नभएको व्यवसायीहरू बताउँछन् । दशैं सुरु भइसक्दा पनि बजारमा किनमेल गर्नेको चहलपल निकै कम छ । बजारको कारोबार सामान्य अवस्थाकै जस्तो छ । फुर्सद निकाल्नै हम्मेहम्मे हुनुपर्ने समयमा दशैंकै बेला सोचेजस्तो व्यापार नभएपछि यहाँका व्यवसायीहरू निराश बनेका छन् ।

विगतका वर्षहरूमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो वर्ष राम्रो हुने उनीहरूको आशा थियो । तर, बजारमा अन्य बेलामा जस्तै छिट्फुट मात्र कारोबार भइरहेको हो । महँगी बढेकाले पनि ग्राहक कम आएको हुनसक्ने व्यवयासीहरु बताउँछन् । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई सटर भाडा नै तिर्न हम्मेहम्मे पर्ने अवस्था छ ।

‘केही वर्ष पहिलेसम्म दशैंतिहारका समयमा व्यवसायीलाई ग्राहकको चापले सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । खाना खाने फुर्सदसमेत हुँदैन्थ्यो,’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘व्यवसायीहरु पसल कुरेर हाई काढ्दै बसिरहेका भेटिन्छन् । चाडबाडका बेला व्यापार सुस्ताएपछि व्यवसायीहरू मर्कामा परेका छन् ।’

उनका अनुसार व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थालेको छ । आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको संघका अध्यक्ष कँडेलले बताए । चाडपर्वमा पनि राम्रोसँग व्यापार नहुँदा व्यवसायीहरू अप्ठ्यारोमा रहेको उनी बताउँछन् । वीरेन्द्रनगरमा मात्रै नभएर कर्णाली प्रदेशका सबैजसो बजारमा ग्राहक नहुँदा व्यापारीको हालत खराब छ ।

‘बैंकले व्यवसायीका लागि ऋण प्रवाह गरेका छैनन्,’ संघका अध्यक्ष कँडेलले भने, ‘बैंकले लगानी नगर्दा सामान थप्न पनि कठिनाइ छ ।’ विगतका दशैंमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा खुम्चिएको छ । कर्णाली मलका व्यवस्थापक गणेश ढकालले पनि दशैं भित्रिसक्दा पनि बजारमा चहलपहल नबढेको बताए ।

अहिले गत वर्षभन्दा २० प्रतिशत व्यापार कम भइरहेको जनाउँदै उनले भने, ‘हरेक क्षेत्रमा आर्थिक संकट छ । व्यापारमा बैंक तथा वित्तीय संस्थाको लगानी छैन । बजार भाउ बढेको बढ्यै छ ।’ दशैंमा आफूहरूले १५ देखि २० प्रतिशत छुट दिँदा पनि व्यापार नबढेको उनको भनाइ छ । पहिलेजस्तो चाडपर्वको रौनक नहुँदा पनि व्यापार घटेको जानकारहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा नयाँ कपडा लाउन र मिठो मसिनो खान दशैं नै कुर्नुपर्ने अवस्था छैन । वीरेन्द्रनगर–१२ का ६० वर्षीय लालविर रावलले पहिलाको तुलनामा दशैं तिहारको महत्व नै घट्दै गएको बताए । ‘अहिले पैसा मात्र हुनुपर्यो जतिबेला जे किन्न पनि पाइन्छ । त्यसैले चाडपर्वमा किनमेल गर्नेको घुँइचो नलाग्ने गरेको हो,’ उनले भने ।

कर्णालीकै प्रमूख व्यापारिक केन्द्र वीरेन्द्रनगरमा ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा छन् । चाडपर्वमा व्यवसायीहरू उत्साहित छैनन् । फेन्सी तथा रेडिमेट, गरगहना, इलेक्ट्रोनिक्स पसल तथा खाद्य स्टोरहरूमा किनमेल गर्नेको भिड छैन । सबैजसो व्यापारमा गतिलो कारोबार भएको छैन । विगतका वर्षभन्दा अहिले झनै व्यापार खस्किएको व्यवसायीहरूको अनुभव छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०७:२५