सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतबाट तीन हजार नौं सय खसी काठमाडौं पठाइयो

बडादशैंका लागि सुर्खेतबाट तीन हजार नौं सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीेरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यहरुले पालेका तीन हजार ९५८ वटा खसी काठमाडौं पठाइएको हो ।

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेला महिलाले उत्पादन गरेका खसीबोका काठमाडौंमा पठाएको ‘पशु बस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना’का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो ।

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ । जसअनुसार जिउँदो खसी प्रतिकिलो रु.५०० देखि रु.५३० मूल्य तोकिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौं पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए ।

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैं लक्षित खसीबोका बिक्री गरिरहेका छन् । सहकारीहरुले दशैंतिहारको अवधिमा मात्रै छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए ।

महिलालाई ब्यवसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन ब्यवसायमा सहकारीले सदस्यहरुलाई बित्तिय सहयोग गर्दै आइरहेको छ । सहकारीले माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, आरएमडिसी, आरएसडिसी र राष्ट्रिय सहकारी बिकास बैंक लगायतका बित्तिय संस्थाहरुसँग समन्वय गरी सदस्यहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन थालेपछि सदस्यहरु ब्यवसायिक बाख्रापालन ब्यवसाय गर्दै आइरहेका छन् ।

परियोजनामार्फत प्राबिधिक र बजारीकरणमा पनि सहयोग गर्दै आएको संयोजक दलामीले जानकारी दिए । परियोजनाले सहकारीहरुको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनुका साथै महिला सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम पनि दिँदै आएको छ । सहकारीले संकलन केन्द्रहरुमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०७:१८