सूचनाको शक्ति - The Power Of Information

        

बारुद पड्किँदा दैलेखमा श्रीमान् श्रीमती घाइते

माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा बारूद पड्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।

नारायण नगरपालिका–६ भुर्तीमा फलामे पाइपमा बारुद भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उनकी २२ वर्षीया श्रीमती अञ्जु सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले माछा मार्ने बारुद पड्किँदा घाइते भएका उनीहरुको जिल्लामा अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको बताए ।

उनले प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान फलामे पाइप सकेट (बम बनाउने) बरामद गरेको बताए । घाइते अर्जुन कार्कीको हातको हत्केला र आँखामा चोट लागेको छ भने श्रीमतीको अवस्था समान्य छ । घाइते अन्जु गर्भवती छिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १५:२८