सूचनाको शक्ति - The Power Of Information

        

चिसो छल्न बेँसी झर्दै उपल्लो मुस्ताङवासी

चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् ।

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताइन् ।

यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ ।

मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुप लगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् ।

घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिइन् । उनी अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहेकी छन् । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेँसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको उनले बताइन् ।

उक्त क्षेत्रमा विद्यालयसमेत बन्द भइसकेका छन् भने कर्मचारीसमेत फाट्टफुट्ट बस्ने गरेका छन् । ‘धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ,’ मुस्ताङमा अध्यापनरत शिक्षक राजकुमार पोख्रेल भन्छन्, ‘अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।’

उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ । यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ ।

मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँ लगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले सुनाए । उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाइन्छ ।

– रासस

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १३:०२