सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धन

निर्वाचनपछि को बन्ला प्रधानमन्त्री ?

सत्ता गठबन्धनमा कांग्रेसपछि माओवादी नै निर्णायक शक्ति देखिन्छ । एकीकृत समाजवादीका नेताहरुले भने यसबारे अहिलेसम्म कुनै अभिव्यक्ति दिएको देखिँदैन ।

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने उद्घोषका साथ चुनावमा होमिएको छ ।

तर, सत्ता गठबन्धनबाट प्रधानमन्त्रीका साझा उम्मेदवार तय हुन सकेको छैन । यही सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले गठबन्धनबाट साझा उम्मेदवार तय हुनुपर्ने राय राखेका छन् ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर साझा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न आग्रह गरेको बताएका छन् । आइतवार देउवासँग आफूले उक्त आग्रह गरेको उनको भनाइ रह्यो ।

‘सभापतिलाई भेटेर हिजो आफूलाई खट्केका दुई कुरा प्रष्ट राखेँ, पहिलो गठबन्धन चुनाव नलड्नु लडिसकेपछि पाँच वर्षे नीतिगत कार्यक्रमको साझा घोषणापत्र छुट्टै जारी होस् । दोस्रो साझा प्रधानमन्त्रीको नाम शीघ्र घोषणा होस गम्भीर पाएँ, नतिजाको प्रतिक्षामा छु,’ आचार्यले लेखेका छन् ।

नेता आचार्यले मात्र हैन, अधिकांश नेता कार्यकर्ताले पनि चुनावमा होमिँदा गठबन्धनले आगामी नेतृत्व कसको भनेर तय गर्न नसकेकोमा असन्तुष्टि पोखेका छन् । सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को ?

यस विषयमा कुनै साझा धारणा तय नभए पनि आइतवार मात्र गोरखा पुगेर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भनाइ राखे ।

‘एउटै मान्छे पटक–पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ । प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको छ,’ गोरखामा प्रचण्डलाई मत माग्दै बाबुरामले भने, ‘अब पाँच वर्ष सरकार चल्छ । प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ ।’

प्रचण्डले पनि गोरखामा विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै निर्णायक शक्ति माओवादी हुने बताएका छन् । माओवादीका फस्ट म्यान भएको नाताले र एकपटक प्रधानमन्त्री भइसकेकाले प्रचण्डसँग प्रधानमन्त्री हुने आकांक्षा छैन भन्न सकिन्न ।

सत्ता गठबन्धनमा कांग्रेसपछि माओवादी नै निर्णायक शक्ति देखिन्छ । एकीकृत समाजवादीका नेताहरुले भने यसबारे अहिलेसम्म कुनै अभिव्यक्ति दिएको देखिँदैन । यद्यपि, अहिले सत्ता गठबन्धनमा कांग्रेस नै बलियो देखिएकाले कांग्रेसबाटै प्रधानमन्त्री बन्ने कतिपयको आँकलन छ । तर, कांग्रेसमा पनि प्रधानमन्त्रीका दर्जन आकांक्षी छन् ।

कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षी रहेका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए । सोमवार काठमाडौंको बानेश्वरमा मतदातासँगको छलफलमा सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने भनाइ राखे ।

कांग्रेसले सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई नै चुनावपछिको प्रधानमन्त्रीको रुपमा हेरेको देखिन्छ । यद्यपि, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु डा शेखर कोइराला, डा शशांक कोइरालाले पनि प्रधानमन्त्रीको लागि आकांक्षा व्यक्त गरिसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १२:३०