सूचनाको शक्ति - The Power Of Information

        

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आज सोमबार चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन् । नेकपा माओवादी केन्द्रले दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको छ ।

माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको छ ।

पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको माओवादी केन्द्रले जनाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि आजै पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ । एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित घोषणापत्र तयार गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । अहिलेसम्म नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०९:२६