सूचनाको शक्ति - The Power Of Information

        

शंकर र जेरीको छक्क पार्ने डिभोर्सको अन्तरकथा बाहिरियो !

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो, प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको । नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ ।

अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ । पाँच वर्षसम्म ‘डिप लभ’मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्यो ?

दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पु¥याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट दुई वर्षकी छोरी छन् ।

कम्तीमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ । ‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ,’ स्रोतले भन्यो । काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो ।

उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ । जेरी सोमबार पनि अदालत जाने सम्भावना कम रहेको स्रोत बताउँछ ।

उनी अहिले श्रीमानको सम्पर्कमा छैनन् । श्रीमानसँग मात्र होइन, दुई–तीन दिनदेखि उनी कसैसँग पनि सम्पर्कमा छैनन् । आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्कविहीन’ बनेकी हुन् । उनको फोन अफ छ भने सामाजिक सञ्जालमा पनि अफलाइन छिन् । उनले एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत रद्द गरिन् ।

शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कविहीन बनेको स्रोतको अनुमान छ । तर, उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ । डिभोर्स भएको दिन जेरीले सबै कुरा मिडियामा ल्याउने तयारी गरेकी छन् । जेरीले श्रीमानसँग सम्बन्धविच्छेद गर्दा उनको कुनै पनि सम्पत्तिमा दाबी गरेकी छैनन् ।

त्यसो त शंकरसँग आफ्नो नाममा उल्लेख्य प्रपर्टी पनि छैन । भएको केही सम्पत्ति उनले परिवारका सदस्यहरुको नाममा राखेका छन् । आफू उल्टै १५–२० लाख ऋणमा रहेको उनको दाबी छ । जेरी र शंकरले विवाहपछि जुनकिरी रोदी क्लव सञ्चालनमा ल्याएका थिए । यसमा जेरी र शंकरको ६० प्रतिशत (दुवैको ३०–३० प्रतिशत) लगानी छ भने अरु दुई शेयर होल्डरको ४० प्रतिशत लगानी रहेको छ ।

शंकरको नाममा रहेको ३० प्रतिशत शेयर पनि जेरीकै पैसा भएको बताइन्छ । अब आफ्नो नाममा रहेको ३० प्रतिशत शेयर रकम लिएर जेरी उक्त क्लवबाट बाहिरिनेछिन् । त्यसपछि जुनकिरी रोदी क्लव शंकरले अन्य दुई शेयरहोल्डरसँग मिलेर सञ्चालन गर्नेछन् । जेरीले हालै आफ्नै व्यक्तिगत स्वामित्वमा नयाँ दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् ।

उनले अब यसैलाई निरन्तरता दिनेछिन् । त्यसो त उनले एक अन्तर्वार्तामा डिभोर्सपछि विदेश पलायन हुने सोच बनाएको बताएकी थिइन् । यता शंकरको भने आफ्नै तयारी छ । स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपछि उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक–अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो । अनलाइनबाटै लभ परेको थियो ।

त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए । शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । र, जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान–श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो । अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १४:२०