सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्रीको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकोप्टरबाट उद्धार

फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकोप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

घटना आज बिहान ८ बजेको हो । त्यहाँ विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की चार वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले जानकारी दिए ।

घटनामा सोही ठाउँका सात वर्षीय कमल थापा, पाँच वर्षका मुस्कान थापा, तीन वर्षकी सपना थापा तथा चार वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।

नेपाली सेनाको हेलिकोप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।

 

 

– रासस

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १२:५८