सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन

बाँकेमा १०८ मतदानस्थल अतिसंवेदनशील

जिल्लाका १३८ मतदानस्थलमध्ये १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील छन् ।

सुरक्षाका दृष्टिकोणले बाँके जिल्लाका १०८ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेमा जिल्लाका १०८ मतदानस्थल अतिसंवेदनशील देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । जिल्लाका १३८ वटा मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले निर्वाचनमा सुरक्षा दृष्टिकोणले जिल्लाका मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकोमा १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेको जानकारी दिइन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा १३८ मतदानस्थल बनाइएको प्रमुख पन्तले बताइन् । बाँकेमा साम्प्रदायिक धार्मिक गतिविधि तथा भारतसँगको खुला सीमालाई मुख्य चुनौतिको रुपमा हेरिएको छ ।

सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमूख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अतिसंवेदनशील मतदानस्थल रहेका क्षेत्रका साथै नेपाल–भारत सीमामा अहिलेदेखि नै सुरक्षा निगरानी बढाइएको जानकारी दिए ।

सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक अवस्थाको अध्ययनका आधारमा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । उनले अबको केही दिनमै मतदानस्थलको थप अवस्थाका बारेमा जानकारी लिने जनाएका छन् ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाइ गर्ने गरी तयारी गरिएको छ । थप अवस्थाका बारेमा जानकारी लिएर अतिसंवेदनशील र संवेदनशील निर्वाचन केन्द्रका लागि आवश्यक सुरक्षा व्यवस्था मजबुद बनाइने पनि प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ११:३६