सूचनाको शक्ति - The Power Of Information

        

२१ दिन पछि खुल्यो सुर्खेत–जुम्ला सडक

वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गते देखि पूर्ण रूपमा खुलेको हो ।

सडक खण्डका सयौ ठाउँमा आएको पहिरो र सडक कटान गरेपछि २१ दिन सम्म आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो । केही खण्डमा गत असोज २७ गते यता गाडी चले पनि कालिकोटको पिली देखि जुम्ला सम्मको सडक भने खुल्न सकेको थिएन ।

उक्त सडक खण्डमा सबै भन्दा धेरै पहिरो झरेको थियो भने तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रा समेत बन्द भएको थियो । डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकै साथ गरेपछि २१ दिनको राती पूर्ण रूपमा सडक खुलाउन आफूहरू सफल भएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र प्रहरी, सेनाको सहयोगले सडक सुचारु गराउन सफल भएको बताउनुभयो ।

सुरुमा हेर्दा प्रहरीको रिपोट सुन्दा तीन महिना लगाएर पनि सडक खुलाउन सकिँदैन की भन्ने त्रास थियो । तर विपद्को वेला स्थानीय सरकार देखि सबै सुरक्षा निकाय र सडक विभागले पनि बिदामा गएका कर्मचारीलाई समयमै खटाएका कारणले २० देखि २१ दिनको बिचमा सडक खुलाउन सफल भएको थियो ।

कालिकोटको सदरमुकाम मान्म देखि नाग्मसम्मको ४५ किलोमिटर सडकमा ६० ठाउँमा पहिरो र नदीले सडक बगाएको थियो । मान्म देखि दहिखोला खण्डमा पनि २० भन्दा बडी ठाउँमा पहिरो झरेको थियो । गाेरखापत्रमा खबर छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ०९:४६