सूचनाको शक्ति - The Power Of Information

        

ट्वीटर आजदेखि एलन मस्ककाे स्वामित्वमा

सामाजिक सञ्जाल ट्वीटर आजदेखि अमेरिकी धनाढ्य एलन मस्कको पूर्ण स्वामित्वमा आउने भएको छ ।

केही महिना पहिले ४४ अर्ब डलरमा खरिद सम्झौता गरेका मस्कलाई अमेरिकी अदालतले सम्झौता कार्यान्वयनका लागि आजसम्मको म्याद दिएको छ । तर मस्क हिजो नै सान फ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालय गएर आफू अनुकूलका निर्णयहरु गर्न थाल्नु भएको छ ।

उहाँले प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई विदा गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्वीटरका सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानुनी तथा नीतिगत प्रमुख विजय गाडे र सल्लाहकार सिन एजेडलाई मस्कले बर्खास्त गरेको बताइएको छ ।

गत अप्रिल १३ मा खरिद सम्झौता गरेका मस्कले जुलाई ८ मा सम्झौताबाट पछि हट्ने बताएपछि ट्वीटर अदालत गएको थियो भने सीइओ अग्रवालले मस्कको कडा आलोचना गर्नुभएको थियो । अग्रवालसहित वरिष्ठ कर्मचारीहरु ट्वीटर मूख्यालयबाट बाहिरिएको र अब नफर्कने अमेरिकी मिडियाले बताएका छन् ।

मस्कको स्वामित्वमा आएपछि ट्वीटरका ७५ प्रतिशत कर्मचारीको जागिर जाने आशंका गरिएको छ । स्वामित्व लिने भएपछि मस्कले ट्वीटरलाई एउटा सभ्य सामाजिक सञ्जाल र विज्ञापनको भरपर्दो मञ्च बनाउने प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ०९:३०