सूचनाको शक्ति - The Power Of Information

        

पाल्पामा फस्टायो ढाकाको व्यापार

उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ ।

पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछ । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो ।

‘पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थाले,’ तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की भन्छिन्, ‘बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।’

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि बढेको छ । गएका दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना सङ्क्रमणदर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने प्रचलनले गर्दा ढाकाको व्यापार अन्य समयभन्दा बढी हुने गरेको हो ।

पाल्पाका मुख्य बजार तानसेन, रामपुर लगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा सारी, कुर्ता सुरुवाल, झोला लगायतका उपहारका सरसामान किन्नेको भीड बढेको छ । तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा ढाका टोपीको प्रयोग बढी हुने गर्दछ ।

तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोला लगायतका सामग्री उपहार दिने प्रचलन रहेको तानसेन–२ का उमेश गैरे बताउँछन् । गैरे भन्छन्, ‘ढाकाका सामग्री हेर्दा राम्रो र पाल्पाको पहिचान भएकाले अन्य सामग्रीको सट्टा तुलनामा बढी उपहार दिने गर्दछौँ ।’ एउटा पाल्पाली ढाका टोपीको मूल्य रु एक सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गर्दछ ।

जिल्लामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी उद्योगमा पाँच हजार हजार जनाले रोजगारी पाएका छन् । तानसेनमा ढाका व्यवसाय गर्दै आएकी प्रमिला कार्कीका अनुसार दसैँदेखि तिहारसम्ममा एउटै पसलबाट रु एक लाखदेखि पाँच लाखसम्म बिक्री हुने गरेको छ । गत वर्ष रु १० करोड हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यस वर्ष रु १२ करोडसम्मको कारोबार हुने ढाका उद्योगीको अनुमान छ ।

 

– रासस

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार ०७:५१