बारीभरी ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन् ।
गाउँका प्रत्येक टोलदेखि बारीभरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन् । नेपालमा प्लास्टिकका फूलले बजार ओगटिरहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ ।
शारदा नगरपालिका २ जोगिदेउ खोलामा सात रोपनी जग्गामा फूल खेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताए । क्यानडाबाट ५०० मखमली फूलको माला अर्डर भए अनुसार माला पठाइएको उनको भनाई छ ।
उनले भने, ‘जिल्लामा पहिलो पटक व्यावसायिक पुष्पखेती गरिएको र पहिलो पटक नै विदेशबाट अर्डर आउँदा व्यवसायप्रति थप हौसला मिलेको छ ।’ सरकारले प्लास्टिकबाट बनेका मालमा प्रतिबन्ध लगाएसँगै बजारमा सयपत्री र मखमली फूलको माग अत्याधिक बढेको उनको भनाई छ । विदेशदेखि बाह्य जिल्लाबाट समेत फूलका लागि माग भएपनि जिल्लाभित्र नै माग अनुसार पुर्याउन नसकेको वलीले बताए ।
उनले भने, ‘केही समयअघि बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती थिए । आफूले उत्पादन गरेको फूल बिक्री हुँदैन कि भनेर चिन्ता थियो तर अहिले पुर्याउन नसकेर अर्डरकर्ता रिसाउँछन् कि भन्ने चिन्ता छ ।’ सरकारले पुष्प खेती गर्ने किसानहरुलाई मल, बीउको सहज व्यवस्था गर्न सक्ने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने वलीको भनाई छ ।
सत्यपाटी संवाददाता । सल्यान