तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् ।
फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् ।
नेपालगन्जस्थित सफल बहुउद्देश्यीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ । ३२ सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो ।
पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ । नरिवल, ओखर लगायतका १७ सामग्री मिसाएको भाइमसला १५० देखि एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् ।
सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उनको भनाइ छ । उनी जस्तै नेपालगन्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् ।
यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताए ।
नेपालगन्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मा लगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ ।
चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरूपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झन्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताए ।
उनी जस्तै नेपालगन्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउँछन् । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् ।
गतवर्ष कोशेली घरमार्फत करिब ४० हजार बराबरको परिकार बिक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिए । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरूलाई उत्पादनको काम दिने गरेको छ ।
गतवर्ष २ महिलालाई तिहार विशेष परिकार बिक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उनको भनाई छ । चाडपर्वमा पाक्ने मौलिक परिकार केही समय यता शहरमा देखिन छोडिसकेका थिए ।
सिप भएका महिलाहरूले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।
– रासस
सत्यपाटी संवाददाता । बाँके