काठमाडौं नक्सालमा शङ्कर ग्रुपले ८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले ६ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । ६ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ ।
यद्यपि अहिले वाणिज्य बैंकले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याइसकेका छन् । हिल्टन होटलमा १७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा ३६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक ९ हजार ५०० रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ ।
तर घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलले पनि भोग्नुपर्ने देखिएको छ । कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरुको बुझाइ छ ।
निर्माणाधीन होटलमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कूचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यता छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा १५ प्रतिशतको मात्रै अकुपेन्सी छ । होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ ।
नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहेका तथा हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल सुनिश्चित नभएको स्वीकार गर्छन् । उनका अनुसार हाल तारे होटलले औसतमा प्रतिकोठा ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरुले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाइ छ ।
‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ । बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ,’ उनले भने, ‘होटलले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठा ३०० देखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ ।’
तर सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव नहुने उनको भनाइ छ । ‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ,’ उनले भने ।
उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारण थिए । यसमा बढ्दो होटलहरुको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरुमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ ।
उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने निर्माणाधीन तारे होटलमा भएको लगानी मात्र रु ५० अर्बभन्दा बढी छ । एकातिर धमाधम तारे होटलमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटलमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार नदेखिएको बताउँछन् ।
यद्यपि पर्यटन क्षेत्रमा ओइरिएको लगानीलाई भने उनी सकारात्मक लिन्छन् । सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी, विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटलहरुमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाहे हुने उहाँको भनाइ छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा सञ्चालित होटलमा ५० हजार कोठा छन् ।
त्यसबाहेक निर्माण भइरहेका होटलका कारण २ हजार कोठा थप हुनेछन् । एकातिर होटलमा लगानी बढिरहेको छ । अर्कातर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ । उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ ।
यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरुको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केत देखिन थालेका छन् । निर्माणाधीन केही पाँचतारे होटलहरुमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मान लगायतका होटल छन् ।
– रासस
कमलकुमार बस्नेत । काठमाडौं