सूचनाको शक्ति - The Power Of Information

        

सूचना संकलन छाडेर असुलीतिर

बाँकेमा घुमुवा प्रहरीको असुलीधन्दा, हाकिमभन्दा शक्तिशाली ‘घुमुवा’

‘असुली धन्दामा माहिर मानिएका र जागिर छाडेकाहरु पनि घुमुवाको रुपमा असुलीधन्दा चलाइरहेका छन् ।’

आफू निकटका व्यक्तिलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा प्रहरी अधिकारी बदनाम हुँदै आएका थिए । प्रहरी प्रमूखकै निर्देशनमा बाँकेमा घुमुवा प्रहरी बढी सक्रिय देखिन्थे । घुमुवा प्रहरीको खेती भनेकै असुली बन्थ्यो ।

उनीहरु अपराध कर्मसँग जोडिएका व्यक्तिहरुसँग माम खानै व्यस्त हुन्थे । कतिपय अवस्थामा घुमुवाले हाकिम र अपराधी दुवै पक्षसँग डिल गर्ने गर्थे । जिल्ला हुने अपराधिक घटनाका घटनाबारे घुमुवालाई अग्रिम जानकारी हुन्थ्यो, पैसा जताबाट आउँथ्यो उनीहरु त्यतै लाग्थे ।

‘राम्रो हाकिम आउँदा अपराध अनुसन्धान र सूचना संकलन गर्न मात्र लगाउँछन्’ एक जना एक घुमुवा प्रहरीले भने, ‘केही चाहिँ आउने वित्तिकै कहाँकहाँबाट पैसा उठाउने गरेको छ भनेर सोध्छन् । त्यही अनुसार आदेश मान्नुपर्छ ।’

लामो समयदेखि घुमुवाको असुलीधन्दा चलिरहेकै बेला प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी कार्यालय बाँकेमा आएलगत्तै घुमुवा प्रहरी हटाइए । घुमुवा हटाएपछि उनको चौतर्फी प्रशंसा भएको थियो । उनको यो निर्णय महिनादिन पनि टिक्न सकेन ।

उनले त्यतिबेला जिल्लाभर खटाइएका ३० जना घुमुवा हटाएका थिए । ठूला तस्करीका माफियाहरुको जालमा पारेपछि बाँकेमा फेरि घुमुवा परिचालित भए । ‘इमरजेन्सी अवस्थामा बाहेक अब जिल्लामा घुमुवा परिचालन हुने छैनन्,’ एसपी अधिकारीले भनेका थिए ।

घुमुवा हटाएपछि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा ठुलो सघाउ पुग्ने उनको दावी थियो । घुमुवा हटाएपछि एक हप्ताजति घुमुवासँगको मिलेमतोमा तस्करी र रकममा हुने बार्गेनिङ्ग रोकियो । प्रहरी प्रधान कार्यालयको स्वीकृतिबिना घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन ।

तर, बाँकेमा असुली धन्दाका लागि अहिले घुमुवा प्रहरी छ्याप्छ्याप्छी खटाइएको छ । सूचना संकलनका नाममा केही प्रहरी अधिकृतले नै घुमुवा परिचालन गर्दै आएको खुलेको छ । खासगरी सीमा क्षेत्रमा ती घुमुवा परिचालन गरेर असुलीधन्दामा लगाएको खुलेको हो ।

घुमुवासँग आजित नेपालगन्जका एक व्यवसायीले भने, ‘घुमुवा प्रहरीको आचरण र व्यवहार नै तुच्छ र धम्कीपूर्ण हुन्छ । हाकिमको धाक अलाउँदै घुमुवाहरु खुलेआम असुली गरिरहेका हुन्छन् । लाग्छ, उनीहरुलाई सूचना संकलन होइन, असुलीका लागि राखिएको छ ।’

बाँकेमा कार्यरत नेपाल प्रहरीका घुमुवाहरू पछिल्लो समय मोटो रकम असुलीमा सक्रिय हुँदै आएका छन् । यौन व्यवसायमा संलग्न केही युवतीको प्रयोगमा रकम असुल्ने र रातारात धनाढ्य हुने आपराधिक गतिविधिमा घुमुवा प्रहरीहरु सामेल छन् ।

यस्तो पासो थाप्दा घुमुवाले पैसाको भोक युवती र विलासिताको सोख भएका युवालाई प्रयोग गर्दै आएको खुलासा भएको छ । दुई बर्षअघि यौन धरापमा परेर असुली धन्दामा लागेका नेपालगन्जस्थित संघीय प्रहरी कार्यालयका एक जना प्रहरी जवान नै पक्राउ परेका थिए ।

उक्त घटनामा १० लाखको बार्गेनिङ भएको र घुमुवाले रकम असुली गरी बाँडेको इलाका प्रहरी कार्यालय कोहलपुरका तत्कालिन प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले पनि स्वीकार गरेका थिए । ‘अहिले पनि असुलीधन्दा उस्तै छ,’ प्रहरी स्रोतले भन्यो ।

अहिले पनि बाँकेमा घुमुवा प्रहरीका नाममा जागिर छाडेका प्रहरीहरु पनि जिल्लाका प्रहरी अधिकारीहरुबाट परिचालित भएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘असुली धन्दामा माहिर मानिएका र जागिर छाडेकाहरु पनि घुमुवाको रुपमा असुलीधन्दा चलाइरहेका छन् ।’

यसरी परिचालित भएका उनीहरु रकम असुलीमा धम्की, डर र त्रास समेत दिदैं बार्गेनिङ गर्ने गरेका छन् । घुमुवा प्रहरीकै संलग्नतामा यौन धरापमा पारेर १२ लाख रुपैयाँसम्म असुलिएको एक् जना पूर्व घुमुवा प्रहरी बताउँछन् ।

उजुरी गरे पनि प्रहरीकै संलग्नता हुने हुँदा न्याय पाउने सम्भावना न्यून देखिएकाले मौनता साँध्नुपरेको ती भुक्तभोगीको भनाइ छ । यस्तो धन्दामा धेरैजसो आफूलाई घुमुवा प्रहरी बताउनेहरूको मिलेमतो हुने गरेको पाइएको छ ।

वर्षौंदेखि मुद्दा फाँटमा बस्दै आएका प्रहरी अधिकृतको समेत नियत खराब देखिन्छ । प्रहरी स्रोत भन्छ, ‘१० वर्षदेखि मुद्दा फाँटमा जरो गाडेर बस्ने प्रहरी र घुमुवा मिलेर गर्ने यस्तो संगठित अपराध माथिल्ला हाकिमलाई समेत पत्तो हुँदैन ।’

जिल्ला प्रहरी कार्यालयमा एसपीदेखि इन्सपेक्टरसम्मले सूचनाका लागि भन्दै आफ्ना नजिकका व्यक्तिलाई घुमुवाका रुपमा खटाएको जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले बतायो । ती घुमुवाहरुको काम भने सूचना संकलन नभई रकम असुली र बार्गेनिङ्गमै बित्ने गर्छ ।

सीमा नाकाबाट हुने चोरी, तस्करी नियन्त्रणभन्दा असुलीमा उनीहरु केन्द्रीत हुन थालेका छन् । तस्करहरुसँग लाइन मिलाउँदै छुट्टाछुट्टै घुमुवा खटाएर उनीहरुमार्फत रकममा बार्गेनिङ्ग हुन थालेपछि बाँकेमा तस्करी मौलाउँदै गएको छ ।

प्रहरीका हाकिमभन्दा शक्तिशाली ‘घुमुवा’

प्रहरीका हाकिमभन्दा ‘घुमुवा प्रहरी’ शक्तिशाली देखिएको एक अध्ययनले देखाएको छ । सीमा क्षेत्रमा सादा पोसाकमा खटिने घुमुवा प्रहरीको आपराधिक समूहसँग साँठगाँठ गरेर अनुचित लाभ लिदै आएको गृह मन्त्रालयको स्थलगत अध्ययनले औँल्याएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै निकायले सूचना संकलनका नाममा खटाउने यस्ता घुमुवाले आचरणविपरीतका काम गर्दै आएकाले त्यस्तालाई हटाउन भनिएको छ । सहसचिव डा.भीष्मकुमार भुषाल अध्यक्षताको समिति झापा, मोरङ र सुनसरी पुगेर स्थलगत अनुगमन गरेको थियो ।

जसक्रममा घुमुवाको विकृती व्यापक रहेको पाइएको छ । ‘घुुमुवा प्रहरी एउटै कार्यालयमा सात वर्षदेखि बस्दै आएको पाइयो,’ समितिका एक अधिकारीले भने, ‘उनीहरूलाई हटाउन खोज्दा शक्तिकेन्द्रबाट दबाब आउने गरेको स्थानीय इन्चार्जहरूले बताए, घुमुवाकै कारण सीमा क्षेत्रमा ठूलो विकृति रहेछ ।’

कतिपय घुमुवाको पहुँच हाकिमको भन्दा धेरै हुने भएकाले हाकिमले चाहेर पनि हटाउन नसक्ने अवस्था रहेको बताइएको छ । प्रतिवेदनमा निश्चित मापदण्ड बनाएर मात्र घुमुवा खटाउन भनिएको छ । सशस्त्र प्रहरीले दुई महिनाअघि देशैभरिबाट घुुमुवा प्रहरी हटाई इन्टेलिजेन्स तालिम लिएकालाई खटाउन थालेको छ ।

तर, अझै पनि कतिपय इन्चार्जले गोप्यरूपमा घुमुवा खटाउने गरेको स्थलगत अध्ययनमा खुलेको छ । बर्दिको धाक लगाउँदै हाकिमको आडमा घुमुवाले रकम असुली गर्दै आएका छन् । नेपाल प्रहरीभित्र पनि घुमुवाको विकृति हल गर्न छलफल हुँदै आए पनि नेतृत्वले यसमा कुनै ठोस कदम चाल्न सकेको छैन ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार १४:५९