सूचनाको शक्ति - The Power Of Information

        

‘के घर के डेरा’को व्यापार बढ्याे

नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को तिहार बिदामा व्यापार बढेको छ ।

गत शुक्रबार रिलिज भएको चलचित्रले आइतबार र सोमबार दर्शकको साथ तुलनात्मक रूपमा कम पाए पनि मंगलबार बढेको छ । चलचित्रले शुक्रबार औसत अकुपेन्सी कायम गरे पनि शनिबार हाउसफुल भएको थियो ।

मंगलबार बिहानदेखि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा चलचित्रले प्राप्त गरेका शोजहरूमा दर्शकको उपस्थिति बलियो देखिएको छ भने राजधानीका अन्य ठूला मल्टीप्लेक्सहरू एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाज्मा पनि दर्शकको चाप उल्लेख्य छ ।

चलचित्रमा काठमाडौंमा घर हुने र नहुने कथा प्रस्तुत गरिएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने कुरालाई चलचित्रमार्फत देखाइएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन् । साथै चलचित्रमा रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार ०८:२७