सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षमा होङ्सीले बेच्यो ६२ अर्बको सिमेन्ट

चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्टले ६२ अर्ब रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ । होङ्सीले चार वर्षयता क्लिंकर र सिमेन्ट विक्रीबाट ६२ अर्ब बराबरको बिक्री गरेको हो ।

होङ्सी शिवम्ले आर्थिक वर्ष २०७८–००७९ मा १७ अर्ब चार करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर विक्री गरेको छ । आर्थिक वर्ष २०७७–०७८ मा १७ अर्ब ४५ करोडको विक्री गरेको थियो । २०७७–०७८ को तुलनामा भने ४१ करोड रुपैयाँले व्यापार घटेको छ ।

विश्व बजारमा कोइलाको मुल्य बढ्दा त्यसको असर नेपाली सिमेन्ट उद्योगमा परेको छ । कोभिड १९ माहामारी र अहिलेको आर्थिक गतिशील कम हुँदा सिमेन्टको व्यापार माग भने बढ्न नसकेको उद्योगले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा १३ अर्ब ३७ करोड कारोबार गरेको थियो । आव २०७५–०७६ मा १३ अर्ब ३७ करोडको कारोबार गरेको छ । कम्पनीले उत्पादन शुरु गरेको ३ वर्षसम्म डिजेल युनिटबाटै उत्पादन गरेको थियो ।

२०१५ मा स्थापना भएको कम्पनी नवलपुरमा रहेको छ । कम्पनीले हाल ओपिसी र पीपीसी सिमेन्ट होङ्सी ब्रान्डमा उत्पादन गरिरहेको छ । मार्च २०१८ बाट सिमेन्ट र सोही वर्ष मेदेखि क्लिंकर उत्पादन सुरु गरेको थियो ।

कम्पनीले उत्पादन थालेको ४ वर्ष बढी भएको छ । आर्थिक वर्ष २०७४–०७५ मा उत्पादन शुरु भए पनि २०७५–०७६ मा पूर्णरुपमा उत्पादन थालेको थियो । होङ्सी शिवम् सिमेन्टको किंलकर उत्पादन क्षमता वार्षिक २० लाख छ भने २३ लाख गेन्डिङ युनिट रहेको छ ।

कम्पनीको क्षमता अनुसारको उत्पादन विस्तारै बढ्दै गएको छ । कम्पनीको ७० प्रतिशत सेयर होङ्सी ग्रुप (हङकङ रेड लाइन सिमेन्ट) रहेको छ । जसले चीनमा ५० भन्दा बढी ठुला सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ ।

होङ्सी हाल लाओस, इन्डोनेसिया र म्यान्मारमा समेत आफ्नो लगानी गरेको छ । ३० प्रतिशत शिवम् होल्डिङ लिमिटेडको छ । कम्पनीको कुल विक्रीमध्ये ५३ प्रतिशत सिमेन्ट अघिल्लो वर्ष सिमेन्टको हिस्सा ४२ प्रतिशत रहेको थियो । ।

होङ्सीले ४७ प्रतिशत क्लिकरबाट आम्दानी गरेको छ । होङ्सी सबैभन्दा बढी किंलकर उत्पादन गर्ने कम्पनीमा पर्छ । कम्पनीको नाफा प्रतिशत पनि घटेको छ । अघिल्लो वर्ष २७ प्रतिशत कर, ब्याज, अवमूल्यन सहितको नाफा रहेकोमा अहिले १६ प्रतिशतमा झरेको छ ।

बजारमा सिमेन्टको प्रतिस्पर्धा बढेसँगै सिमेन्टको नाफामा समेत कमी आएको छ । कम्पनीलाई सुरुमा नेपालका स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न अफ्ठेरो भए पनि होङ्सी ब्रान्ड परिचित हुँदा सिमेन्ट विक्री गर्न सहज बन्दै गएको कम्पनीले उल्लेख गरेको छ ।

करिब ५ दर्जन ग्रेन्डिङ प्लान्टबाट सिमेन्ट उत्पादन भैरहेको छ भने २० बढी उद्योगले किंकर उत्पादन गर्दै आएका छन् । पुराना उद्योगले पनि आफ्नो क्षमता विस्तार गरिरहेका छन् । दैनिक ६ हजार उत्पादन क्षमता भएको कम्पनीले दैनिक १२ हजार पुर्याउने तयारी गरिरहेको छ ।

होङ्सी शिवम् सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयलले पाल्पामा रहेको चुनढुंगा खानीबाट कन्भेयर बेल्ट लगाएसंगै दैनिक १२ हजार क्षमताको उद्योग चलाउने बताउँछन् । होङ्सी शिवम् सिमेन्टले अधिकांश सिमेन्ट उद्योगलाई किंकर विक्री गर्दै आएको छ । गोयलले उद्योगलाई चाहिले चुनढुंगा गाडीबाट ढुवानी गरेर संभव नहुने बताए ।

त्यसबाहेक होङ्सी शिवम् ग्रुपले दाङ सिमेन्टमा लगानीको प्रक्रिया अघि बढाएको छ । १५ वर्षअघि नै स्वीकृत भएको आयोजना विद्युत, सडक लगायतको कारण देखाउँदै स्थापना हुन सकेको थिएन । भारतको अम्बुजा सिमेन्टको स्वामित्वको उद्योगलाई टेकओभर गरेको थियो । दाङ सिमेन्टबाट उत्पादन गर्न अझै केही वर्ष लाग्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १७:५०