बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक १०० सांसदको समर्थन पाएपछि उनी स्वतः नेता चुनिएका हुन् । सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ ।
इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका सुनक र उनकी श्रीमती अक्षता मूर्तिको संयुक्त सम्पत्ती ७३ करोड पाउण्ड (झण्डै ८२.५ करोड डलर) रहेको बताइएको छ ।
बेलायतका नयाँ राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पत्ति भने ३५ करोड पाउण्ड (झण्डै ३९.६ करोड डलर) छ । अर्थात् राजा–रानीको भन्दा प्रधानमन्त्री सुनक र उनको श्रीमतीको सम्पती दोब्बरभन्दा बढी छ ।
सुनक यो वर्ष सुरुमा सन्डे टाइम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए । आधिकारिक आवासको संख्याको हिसाबमा पनि सुनक र देशका राजाबीच झण्डै प्रतिस्पर्धा नै देखिन्छ ।
सन् १९८० मा जन्मिएका डलर–करोडपति सुनक बेलायतको साउथेम्प्टनमै जन्मिएका थिए । उनका अभिभावक भने सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका थिए ।
तर, भारतीय मिडियाहरुले भने ‘ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री’ भन्दै समाचार लेखिरहेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका सुनक अब राजा चार्ल्स तृतीयलाई भेटेपछि औपचारिक रुपमा प्रधानमन्त्री पद सम्हाल्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं