सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध

फाइल तस्वीर

शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै देउसीभैलोको समय निर्धारण गरेको छ । बाँकेमा राति १० बजेसम्म मात्र देउँसी भैलो खेल्ने समय निर्धारण गरिएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि मात्र पेस्तोलबाट हवाई फायर गर्दै केही युवाले बजारमा आतंक सिर्जना गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन र चाडपर्व सँगसंगै परेकाले प्रहरीले शान्ति सुरक्षालाई विशेष महत्व दिएको बताए ।

राति १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिनुका साथै पटाका पडकाउन समेत रोक लगाइएको उनले बताए । जुवातासमा पनि कडा निगरानी बढाइएको उनको भनाइ छ । केही युवाले खुला रुपमा हतियार देखाएर सुरक्षामा खलल पार्ने काम गरेकाले उनिहरुविरुद्ध कारवाही प्रक्रिया शुरु भैसकेको उनले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी व्यवस्था मिलाइएको उनको भनाइ छ । चाडपर्व र निर्वाचन प्रचार प्रसारको क्रममा सम्भावित अपराध तथा दुर्घटना रोक्न देउसीभैलोको समयसीमा तोकिएको र अन्य गैरकानुनी काममा पनि कडाई गरिएको उनले बताए ।

तिहारको समय दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगलागीजस्ता घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ समेत सचेत रहन जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १६:०५