सूचनाको शक्ति - The Power Of Information

        

विद्युतविहीन बन्यो मुगु, ३१०० ग्राहक अन्धकारमा

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।

गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको छ ।

यसैगरी, बाढीपहिरोबाट विद्युत गृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको छ । बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्नेछ ।

नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

साथै, वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । भौगोलिक रुपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत सेवा लिने ग्राहकको संख्या ३१०० छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १४:१०