सूचनाको शक्ति - The Power Of Information

        

मुँगको दाल उसिनेर खाँदा स्वास्थ्यलाई पाँच उत्कृष्ट फाइदा

दाल शरीरका लागि आवश्यक पोषक तत्वले भरपुर हुन्छ । हामी सबै भात, रोटी आदिसँग दाल खान रुचाउँछौँ । दाल विभिन्न खालका हुन्छन्, यसका भिन्न भिन्न किसिम र प्रकार हुन्छन् । दालबाट अन्य धेरै परिकार पनि बनाइन्छ ।

नेपाली भान्सामा दालको प्रयोग निकै सामान्य छ । तर जब स्वस्थ रहनको लागि सबैभन्दा राम्रो दालको कुरा आउँछ, सबै स्वास्थ्य विशेषज्ञहरूले एउटा मात्र दाल, मुँगको दाल खान सल्लाह दिन्छन् । स्वास्थ्यको हिसाबले मुगको दाल उत्कृष्ट खाना हो ।

यो तौल व्यवस्थापन र मांसपेशी निर्माण गर्न चाहने मानिसहरूका लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो । हामी मध्ये धेरैले अंकुरित मुँग खान्छौँ । यद्यपि, केही मानिसहरुलाई उम्रेको टुसालाई काँचै खान मन नपर्न सक्छ ।

यस्तोमा उनीहरु मुँगको स्वास्थ्य लाभ पाउनका लागि केही सहज तरिका खोज्ने गर्छन् । धेरैले दाल पिसेर खाने गर्छन् तर पकाएर खाँदा दालमा भएका आवश्यक पोषक तत्व नष्ट हुने गर्छन् । यस्तोमा मुँग दालको स्वास्थ्य लाभ प्राप्त गर्नका लागि अन्य कुनै तरिका छ त भनेर प्रश्न उठ्न सक्छ ।

यस विषयमा थप जानकारीको लागि, भारतीय सञ्चार माध्यम ओन्ली माई हेल्थले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । उनका अनुसार मुँगको दाल, अंकुरित मुँगलाई हल्का उमालेर पनि खान सकिन्छ । यसले स्वास्थ्यलाई पनि अथाह फाइदा पुर्याउँछ ।

अंकुरित मुँग दालका फाइदा

मुँग थुप्रै आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो । यसमा प्रचुर मात्रामा प्रोटिन, क्याल्सियम, आइरन र डाइटरी फाइबर हुनुका साथै भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ, जसले तपाईंलाई शारीरिक रूपमा स्वस्थ रहन मात्र नभई धेरै गम्भीर रोगहरूको जोखिमलाई पनि कम गर्छ ।

उसिनेको मुँग दाल खानुका फाइदा

१. सजिलै पच्ने – यदि तपाईंले उसिनेको अंकुरित मुँगको दाल खानुभयो भने, यो खान सहज हुन्छ भने सजिलै पच्छ पनि । यसो गर्दा तपाईंले यसबाट अधिकतम पोषक तत्व र लाभ प्राप्त गर्न मद्दत गर्छ । डायट्री फाइबरले भरपुर भएका कारण यसले तपाईंको पाचन र पोषण तत्वको अवशोषणमा सुधार गर्न पनि मद्दत गर्छ । यो कब्जियतको समस्या टाढा राख्न पनि लाभदायी छ ।

२. मांसपेशी निर्माणमा सहयोगी – एक कप अंकुरित मुँगमा लगभग ७ ग्राम प्रोटिन हुन्छ जसले गर्दा मांसपेशी निर्माणमा यो निकै सहयोगी हुन्छ । यसैकारण फिटनेस प्रेमीले बिहान खाली पेटमा मुँगको दाल खान रुचाउँछन् ।

३. हेमोग्लोबिन बढाउँछ – आइरनयुक्त अंकुरित मुँग दालको सेवनले रगत र रातो रक्त कोशिकामा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ । यसले शरीरमा रक्तअल्पता हटाउन मद्दत गर्दछ ।

४. ऊर्जा प्रदान गर्दछ – बिहान उसिनेको मुँग खाँदा दिनभर ऊर्जावान महसुस हुन्छ । बिहानै कसरत गर्नेहरूका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यदि तपाइँ प्रि–वर्कआउट मुँग दालको सेवन गर्नुहुन्छ भने, यसले कसरतको समयमा तपाईंको प्रदर्शनमा सुधार गर्दछ । यस्तै, यदि तपाईं कसरतपछि यसको सेवन गर्नुहुन्छ भने, यसले मांसपेशी रिकभरीमा पनि मद्दत गर्दछ ।

५. मुटुलाई स्वस्थ राख्छ – अंकुरित दाल बिहान उसिनेर खाँदा खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यसले रक्तचाप नियन्त्रणमा पनि फाइदा गर्छ । जसका कारण यसले हृदयघात, फेलियर र स्ट्रोकजस्ता रोगबाट पनि तपाईंलाई टाढा राख्छ ।

 

– एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १३:२१