सूचनाको शक्ति - The Power Of Information

        

आज सूर्यग्रहण, यी राशी भएकाले हेर्न नहुने

आज दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ ।

खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । नांगो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराइले बताए । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उनले बताए ।

समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ । कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताए पनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताए ।

तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार हिजै लक्ष्मी पूजा मनाइएको उनले बताए । यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात् सोमबार परेकाले लक्ष्मी पूजा पनि हिजै गरिएको हो ।

धार्मिक मान्यताअनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहे पनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरू बताउँछन् । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको जनाएको छ । वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम(दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ । नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ । सूर्य ग्रहण केवल चन्द्रमाको ‘न्यून मून फेजमा मात्र लाग्न सम्भव हुन्छ । खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ । सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ ।

पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ । चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो)भित्र पृथ्वी पूर्णरूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ । चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।

यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशि भएकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १२:२३