सूचनाको शक्ति - The Power Of Information

        

देशकै मध्यभाग चिनाउन ‘मध्यबिन्दु स्तम्भ’ जीर्ण

पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा–चोरमारा खण्डमा एउटा सानो आकृति भेटिन्छ । राजमार्गको नजिकै सिमेन्टले बनाइको आकृति अहिले धुलोले पुरिएको छ ।

लेखिएका विषय प्रष्ट देखिदैनन् । खुइलिएर धमिलो बनेको छ । डण्डा–चोरमारास्थित जङ्गलमा पर्ने यो आकृति ‘मध्यबिन्दु स्तम्भ’ हो । कुनै समय यस खण्ड भएर यात्रा गर्ने धेरैजसो मध्यबिन्दु स्तम्भमा रोकिन्थे । स्तम्भलाई आफ्नो तस्बिरमा कैद गर्थे । अहिले मध्यबिन्दु स्तम्भ जीर्ण बनेको छ ।

राजमार्ग विस्तारसँगै स्तम्भ भत्किने अवस्थामा समेत पुगेको छ । स्तम्भ राजमार्ग छेउमा रहेकाले विस्तारका क्रममा मध्यबिन्दु स्तम्भ सङ्कटमा परेको छ । साथै धुलोले पुरिएर अहिले मध्यबिन्दु स्तम्भ जीर्ण संरचना जस्तै बनेको छ । पूर्वपश्चिम राजमार्गको मध्यभाग पर्ने भएकाले यहाँ मध्यबिन्दु स्तम्भ निर्माण गरिएको थियो ।

मध्यबिन्दु नगरपालिकामा पर्ने यो स्तम्भबाट पूर्वमेची र पश्चिम महाकाली दुवैतर्फको दूरी पाँच सय १२ किलोमिटर रहेको छ । यसकारण पनि यहाँ आइपुग्ने यात्रुलाई यो चाखको विषय बन्ने गर्दथ्यो । देशकै मध्यभागमा पर्ने स्थान पर्ने भएकाले केही समयअघिसम्म यहाँ रोकिने, अवलोकन गर्ने र तस्बिर लिनेको संख्या उल्लेख्य हुने गर्दथ्यो ।

सबैको आकर्षण बनेको मध्यबिन्दु स्तम्भ अहिले सङ्कटमा परेको छ । पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा बाटो जीर्ण बन्दा धुलोले स्तम्भ ढाकिएको छ । स्तम्भमा लेखिएका जानकारीमूलक विषय मेटिने अवस्थामा छन् । यसकारण यसको अवलोकनका लागि रोकिने यात्रुको सङ्ख्या शून्य प्रायः बनेको छ ।

‘पहिले यो बाटो हिँड्दा स्तम्भमा रोकिने तस्वीर लिने हुन्थे, अहिले धुलोले ढाकेको छ, लेखिएका शब्द नबुझिने बन्दै गएको छ,’ डण्डाका स्थानीय जीवन अधिकारीले भने, ‘राजमार्गमा उड्ने धुलोलेसमेत यहाँ कोही रोकिने, अवलोकन गर्ने अवस्था छैन ।’ पूर्वपश्चिम राजमार्गकै मध्यभाग भएकाले मध्यबिन्दु स्तम्भ जिल्लाकै एउटा चिनारी र पर्यटकीय सम्भावनाको क्षेत्र भएको भए पनि अहिले जीर्ण बनेकामा अधिकारीले चिन्ता व्यक्त गरे ।

‘यो त पर्यटकीय सम्भावनाको दृष्टिले पनि महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिन्थ्यो, जिल्लाको चिनारीका रुपमा थियो, तर अहिले जीर्ण छ, राजमार्ग विस्तारसँगै सङ्कटमा परेको छ,’ उनले भने । बाटो छेउमा रहेकाले राजमार्ग विस्तारका क्रममा स्तम्भ भत्किने भन्दै उहाँले चिन्ता व्यक्त गरे । राजमार्ग विस्तारका क्रममा हाल भएको स्तम्भ भत्किए पुनःसोही स्थानमा जिल्लाको चिनारीका लागि भए पनि स्तम्भ निर्माण गर्नुपर्ने अधिकारीले बताए ।

विसं २०५९ मा मध्यबिन्दु स्तम्भको निर्माण गरिएको हो । स्तम्भमा पूर्वमेची र पश्चिम महाकालीको दूरी उल्लेख गरिएको छ । यहाँ अन्य भौतिक संरचना भने केही निर्माण गरिएका छैनन् । यात्रु भने मध्यभाग पर्ने भएकै कारण निर्माण गरिएको स्तम्भको अवलोकन र तस्विर लिने गर्थे । पूर्वमेची र पश्चिम महाकालीको मध्यभाग पर्ने भएकाले यही मध्यबिन्दुलाई जोडेर धेरै सङ्घसंस्थाको नामकरणसमेत गरिएको छ ।

मध्यबिन्दु स्तम्भलाई जोडेर यहाँ मध्यबिन्दु नगरपालिका, मध्यबिन्दु सहिद स्मृति अस्पताल, मध्यबिन्दु क्याम्पस, मध्यबिन्दु साहित्यिक प्रतिष्ठान लगायत धेरै सङ्घसंस्था एवं व्यावसायीक प्रतिष्ठानको नामसमेत राखिएका छन् । मध्यबिन्दु स्तम्भको संरक्षणसँगै यहाँ पार्क निर्माण गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख भीमलाल अधिकारीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १८:३२