सूचनाको शक्ति - The Power Of Information

        

नवौँ राष्ट्रिय खेलकुद

नवौं खेलकुदमा सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

‘खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन । बोल्दा विरोधी भइएला भन्ने डर ।’

नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई सातामात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरू पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटिएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् ।

कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै ब्याडमिन्टनतर्फ पुरुष र महिला गरी ६ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका ब्याडमिन्टन खेलाडी व्यक्तिगत मेहनतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गरेका हुन् । उनीहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ ।

‘प्रदेश स्तरबाट तीन महिला र तीन पुरुष खेलाडी छनोट भयौँ,’ ब्याडमिन्टनका एक खेलाडी भन्छन्, ‘आ–आफ्नो ठाउँमा तयारी गर्नु भनेका छन्, हामीलाई एउटा कर्कको डिब्बा कहीँबाट उपलब्ध छैन ।’ खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढङ्गले गर्नुपर्ने अवस्था रहेको ती खेलाडीले बताए । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक/एक सेट जर्सी मात्र उपलब्ध गराएको थियो ।

कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । ‘जर्सी त दिए तर फुटबलको, अरू केही सहयोग मिलेको छैन,’ करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भने, ‘हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।’ कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन । प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन ।

‘कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो,’ ती प्रशिक्षकले भने, ‘हालसम्म खेलाडीलाई खेल सामग्री उपलब्ध गराइएको छैन, बन्द प्रशिक्षणको कुनै टुङ्गो छैन ।’ यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ । ‘एउटा कर्कसमेत नदिने प्रदेशले खेलाडीबाट पदकको मात्रै आश गरेका छन्,’ एक खेलाडीले भने, ‘यो भन्दा लाजमर्दो कुरा अरू के हुनसक्छ  ।’

सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्ला स्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । ‘खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन,’ एक प्रशिक्षकले भने, ‘बोल्दा विरोधी भइएला भन्ने डर ।’ जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्ने बताए ।

‘बन्द प्रशिक्षण लगायत व्यवस्थापन प्रदेशले गर्ने हो,’ उनले भने, ‘बन्द प्रशिक्षणको विषयमा छलफल मात्रै भएको छ ।’ प्रदेश छनोटका बेला खेल सामग्री पाएको उनको भनाइ छ । नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट ६१५ खेलाडी सहभागी हुने भएका छन् । गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट २०० भन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेश स्तरको छनोटमा यहाँ दुई हजार ५३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए । सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका छन् भने हक्की, जुडो, कराते लगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताए । सदस्य सचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेट लगायत सामूहिक रूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ ।

‘चाडपर्वको समय छ, धेरैजसो खेलाडी पर्व मनाउन घर गइसकेका छन्, बन्द प्रशिक्षणका लागि हामीसँग समय कम छ,’ सिंहले भने, ‘बाँकी प्रतियोगिता सहभागिताको सबै तयारी भइसकेको छ ।’ प्रदेश खेलकुदका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १३:५५