सूचनाको शक्ति - The Power Of Information

        

छाडा चौपाया व्यवस्थापनमा चुनौती

नेपालगन्जका गल्लीगल्लीमा छाडा चौपाया, दुर्घटनाको जोखिम

नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ ।

नेपालगन्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगन्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगन्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।

दुई वर्षअघि नेपालगन्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए ।

यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगन्जको पुरैनीको खुला स्थानमा तारबार गरी चौपाया थुन्ने गरेको छ ।

तथापि, बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य हुन नसकेको नेपालगन्जका स्थानीय रवीन्द्रकुमार ज्ञवाली बताउँछन् । उनले नेपालगन्ज उपमहानगरले यसको नियन्त्रणका लागि नीतिगत सुधार गर्नुपर्ने भन्दै नीति नियमको निर्माण गरी रणनीतिका आधारमा समस्या समाधान गर्न सुझाव दिए ।

नेपालगन्ज–६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि वडा नं.२१ पुरैनाको खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको वडाध्यक्ष राजकुमार साहुले बताए ।

उनले भने, ‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?’ नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्वारा सिर्जित समस्या मात्र होइन ।

सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । अर्कोतर्पm छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

समय समयमा पशु चौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले काञ्जी हाउस पुर्याउने काञ्जी हाउस शाखा प्रमुखका पवन कनौडिया बताउँछन् ।

उनका अनुसार टोलीले बजारका चारैतिर छरिएर रहेका पशु चौपायालाई जम्मा पारेर धपाउँदै काञ्जी हाउस पुर्याउने गर्दछ । छाडा चौपाया नेपालगन्ज सहरका लागि ठुलो समस्या भएकाले यसको व्यवस्थापन तथा विकल्पका लागि विशेष कानुनसहितको रणनीतिक योजना निर्माण गर्नुपर्ने कानून व्यवसायी अधिवक्ता विश्वजित तिवारी बताउँछन् ।

उनले जिल्लाका सबै स्थानीय तहले छाडा चौपायाको व्यवस्थापनको तयारीका बारेमा नेपालगन्ज उच्च अदालतमा रिटसमेत दायर गरी त्यसको आदेशसहितको फैसला अझै कार्यान्वयनमा नआउनु भनेको दुःखद् कुरा भएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १३:१३