सूचनाको शक्ति - The Power Of Information

        

खानेपानीको हाहाकार

सुर्खेत उपत्यकामा खानेपानीको संकट, ‘पहिरोको चुनौती’

मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि १० दिनयता विकल्पका रूपमा संस्थाले खुर्सानीबारी खोलाबाट सुर्खेत उपत्यकामा पानी आपूर्तिको व्यवस्था मिलाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको संकट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी पठाउँदै आएको छ । वीरेन्द्रनगरमा बर्षात्का समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी छल्किनुपर्ने थियो ।

तर, कर्णाली प्रदेशको राजधानी समेत रहेको उपत्यकाले खानेपानीको उच्च संकट व्यहोरिरहेको छ । बर्षेनि पहिरोले खानेपानीको मुख्य प्रशारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च संकट हुने गरेको छ । अन्य समयमा समेत खानेपानीको हाहाकार हुने उपत्यकाको खोनपानीका लागि पहिरो थप चुनौति बनेको छ ।

पहिरोका कारण हरेक वर्ष पाइप लाइनसँगै खानेपानीका अन्य संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा चुनौती भइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । अध्यक्ष देवकोटाले यस बर्ष पनि पहिरोले मुख्य पाइप लाइनमा ठूलो नोक्सानी पुर्याएको बताए ।

‘पहिरोले खानेपानीका संरचना बिगार्दा बर्सेनि ठूलो क्षतिसँगै सेवा प्रवाहमा समस्या हुन्छ,’ उनले भने । झुप्रा खोलाबाट ल्याएको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पुर्याएपछि केही दिनयता उपत्यकाको खानेपानी वितरणमा कठिनाइ भइरहेको छ । असोज २ गते राति गएको पहिरोले वीरेन्द्रनगर–१३ स्थित भन्झ्याङमा १६ मिटर पाइप लाइन बगाएको छ ।

पहिरोले उक्त स्थानमा ३०० एमएमको डिआइ पाइप र अन्य संरचना भत्काएको छ । उक्त ठाउँमा अहिले एचडीपीइ पाइप जडान गरेर पानी ल्याउने प्रयास भइरहेको छ । मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि १० दिनयता विकल्पका रूपमा संस्थाले खुर्सानीबारी खोलाबाट सुर्खेत उपत्यकामा पानी आपूर्तिको व्यवस्था मिलाएको छ ।

‘मुख्य प्रशारण लाइन मर्मत भइरहेको छ, मुख्य पाइप लाइन सुचारु नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छौं । उपभोक्तालाई खानेपानी पुर्याउन वैकल्पिक उपायका रुपमा केही दिनका लागि खुर्सानीबारी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ,’ अध्यक्ष देवकोटाले भने, ‘त्यसबाट प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ ।’

प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति भइरहेको पाइपलाइन पहिरोले फाल्दा मर्मतमा मात्रै झन्डै पाँच लाख खर्च हुने देखिएको उनले बताए । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा प्रत्येक वर्ष पाँच–सात लाख रूपैयाँ खर्च हुने गरेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले बताए ।

भिरालो जमिनका कारण बर्सेनि पहिरोले संरचनामा क्षति गर्दै आएको संस्थाका संस्थाका इन्जिनियर बालाराम तिवारी बताउँछन् । उनका अनुसार हाल क्षति भएको मुख्य प्रसारण लाइनको मर्मत कार्य सकिए पनि त्यसमा पानी सञ्चालन गर्न भने अझै केही दिन लाग्ने छ । मुहानमा समेत पहिरोले क्षति गरेको छ ।

त्यहाँसम्म मर्मतका लागि पुग्न र सामग्री ओसार्न पहुँच मार्गमा पनि ठाउँ–ठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको तिवारीले जानकारी दिनुभयो । ती सबै अवरोध हटाएर आगामी शुक्रवारसम्म मुख्य लाइनमा पानी हाल्ने तयारी छ,’ उनले भने । खानेपानीको संकट रहेकै बेला पहिरोले संरचनामा क्षति गर्दा सेवा प्रवाहमा चुनौती भएको उनले बताए ।

त्यसो त अन्य समयमा पनि सुर्खेत उपत्यकामा पर्याप्त खानेपानी छैन । यहाँ बढ्दो जनसङ्ख्यासँगै खानेपानीको सङ्कट चुलिँदै गएको छ । हिउँदमै पानीको हाहाकार हुन्छ । झन्डै तीन लाख जनसंख्या रहेको उपत्यकामा मागअनुसार पानी पुग्दैन । पहिले सुक्खा समयमा मात्रै खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्सातमै हाहाकार मच्चिन्छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार औसतमा प्रतिव्यक्तिले १२० लिटर दैनिक पानी खपत गर्ने हिसाबले उपत्यकामा दैनिक तीन करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ । बर्सात्का समयमा दैनिक एक करोड २७ लाख लिटर पानी आपूर्ति गर्नसक्ने क्षमताका मात्रै संरचना छन् । बर्सातमा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ ।

‘मौसम प्रतिकूलताका कारण संरचनाको क्षमताअनुसार पानी आपूर्ति हुँदैन, स्रोतमा पनि त्यसैअनुसारको पानी पर्याप्त हुन्छ । तर पूरै पानी आउनका लागि मौसम अनुकूल हुनुपर्छ,’ संस्थाका अध्यक्ष देवकोटाले भने । पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १२:४५