काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपूर्वक टिपिन्छ र विशेष गरी महिलाहरूले यो काम गर्ने गर्दछन् । केशर विश्वभर महँगो मूल्यमा बेचिन्छ ।
‘म सानो छँदा मलाई केशरका खेतहरू हेर्न मन पर्थ्यो । बैजनी रङका फूलले ढकमक्क भुइँ पुरै ढाकेको देख्दा म छक्क पर्थेँ । जब म ठूलो भएँ, तब मैले बुझेँ केशर फुल्ने समयमा जमिन जति बढी बैजनी हुन्छ त्यति नै बाली राम्रो हुन्छ,’ दशकौँदेखि केशर खेती गर्दै आएका परिवारकी छोरी तथा बुहारी रिफत जानले भनिन् ।
बैजनी धर्ती सम्झँदै
जम्मू र काश्मिरका चार जिल्लाहरू (पुलवामा, बुडगाम, श्रीनगर र किश्तवार)मा केशर खेती गरिन्छ । यी चारमध्ये, पुलवामा जिल्लाको पाम्पोरले आफ्नो उत्कृष्ट गुणस्तरको केशर खेतीका लागि कश्मीरको ‘केशर सहर’को उपाधि कमाएको छ । यस क्षेत्रको माटोको गुणस्तर खेतीका लागि अत्यधिक उपयुक्त छ र यहाँ आफ्नो सुगन्ध, रंग र आयुर्वेदिक गुणका लागि परिचित बहुमूल्य ‘काश्मिरी केसर’ उत्पादन हुने गर्दछ ।
पाम्पोर क्षेत्रका करिब तीन हजार परिवार केशर खेतीमा संलग्न छन् । क्रोसिन नामक रसायनको प्रचुरता हुने भएकाले यहाँको केशरलाई उच्च कोटीको केशरको रूपमा लिइन्छ । क्रोसिनले केसरलाई यसको गाढा रंग र आयुर्वेदिक गुण प्रदान गर्दछ । यहाँको केशरमा करिब ८.७२ प्रतिशत क्रोसिन हुन्छ भने ईरानी प्रजातिको केशरमा ६.८ प्रतिशत क्रोसिन पाइन्छ ।
सन् २०११ को जनगणना अनुसार काश्मिर उपत्यकामा करीव ११ हजार महिला (जनशक्तिको ५० प्रतिशत) केशर खेतीमा काम गर्दछन् । कमलो केसरको धागोलाई फूलबाट अलग गर्न महिलाहरूको भूमिका महत्वपूर्ण रहन्छ । प्रत्येक धागोमा तीन रेसाहरू हुन्छन् जसलाई प्रत्येक फूलबाट राम्रोसँग निकाल्नुपर्दछ । त्यसपछि धागोलाई घाममा सुकाइन्छ ।
यसो गर्नु सजिलो छैन किनभने त्यसलाई सेतो कागजमा निश्चित तरिकाले फैलाउनुपर्ने हुन्छ । वातावरणमा भएको आद्रताले केशर कुहिने र हावा चाहिने भएकाले रेसाहरूलाई एउटा सूतीको कपडामा राखिन्छ । यो सम्पूर्ण प्रक्रिया महिला किसानहरूले पुरा गर्दछन् ।
फूलबाट केशरका धागाहरू अलग गर्दै आजी बानो ।
जान र अन्य धेरै परिवारले विगत आठ–नौ दशकदेखि केशर खेती गर्ने गरेका छन् र बालीबाट प्राप्त आम्दानीले घर बनाउन र सन्तानको विवाह जस्ता ठूला खर्चहरू जुटाउन मद्दत पुर्याएको छ । तर जलवायु परिवर्तनका कारण उत्पादनमा आएको गिरावटले यस्तो आम्दानी घट्दो छ र किसानहरूले अब फेरि उत्पादन बढ्नेछ भन्ने आशा गुमाइसकेका छन् ।
जलवायु परिवर्तन, कमजोर सिँचाई प्रणाली र सस्तो ईरानी प्रजातिको केशरको आयातले गर्दा उपत्यकामा केशर उत्पादन द्रुत रूपमा घटेको छ । काश्मिर कृषि विभागका अनुसार गत दुई दशकमा कश्मिरी केशरको उत्पादन ६५ प्रतिशत (१६ मेट्रिक टनबाट ५.६ मेट्रिक टन) ले घटेको छ ।
गत १० बर्षमा उत्पादकत्व खस्केकाले कृषकहरू स्याउ र ओखर जस्ता उत्पादकत्व बढि हुने बाली तर्फ मोडिन थालेका छन् । सन् १९९६ मा ५,७०७ हेक्टरमा केशर खेती हुन्थ्यो तर सन् २०१०–११ मा आएर यो आँकडा ३,८७५ मा झरेको थियो । पाम्पोरको नम्बालाब नजिकै बस्ने मुबीना अख्तरले २० वर्ष अगाडि केशर खेतीको प्रक्रिया पूरा गर्न उनको सम्पूर्ण परिवारलाई महिनौं लाग्ने गरेको बताउँछिन् ।
‘पूरै जाडो महिना हामी स्टिग्मालाई जसमा परागकण जम्मा हुन्छे फूलहरूबाट अलग गर्थ्यौँ, घर सँधै केशरको सुगन्धले भरिपूर्ण हुन्थ्यो र मेरा हथेलीहरू सुनौलो हुन्थे । उत्पादन यति राम्रो थियो कि हामीलाई छानेर प्याकेज गर्न समय लाग्थ्यो । त्यसैले हामी यो काम हिउँदका लागि साँचेर राख्थ्यौँ,’ मुबीनाले भनिन् ।
महँगा कार्यक्रम, सीमित सफलता
जलवायु परिवर्तनबाट प्रभावित यो क्षेत्रले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न जम्मू–कश्मीर सरकारले धेरै कदमहरू चालेको छ । सन् २००७ मा सरकारले केशर ऐन लागू गर्यो जस अन्तर्गत केशरको खेतलाई व्यवसायिक प्रयोजनका लागि रूपान्तरण गर्न प्रतिबन्ध लाग्यो र नियम उल्लङ्घन गर्नेलाई भारू १० हजार जरिवाना र एक बर्षको जेल सजाय दिइने व्यवस्था गरियो ।
यस ऐनले थुप्रै जग्गा एकै पटक किनेर घर भनाउने थालेका भू–माफियालाई निरूत्साहित गरेको थियो । सन् २०१० मा, केशरको खेती पुनर्स्थापित गर्न भारू ४०० करोड लगानी गरेर राष्ट्रिय केशर मिसनको स्थापना गरिएको थियो । स्प्रिंकलर र धाराहरू मार्फत सिँचाई उपलब्ध गराउने, बिउको गुणस्तर बढाउने, उत्पादकत्व वृद्धि गर्न अनुसन्धान गर्ने, र किसानहरूलाई खेती गर्ने नयाँ तरिकाहरूबारे सिकाउने मिसनको उद्देश्य थियो ।
केशरका फूल टिप्दै ।
दुर्भाग्यवश मिसनले उत्पादन बढाउन मद्दत गर्न सकेको छैन । आफ्ना लक्ष्यहरू पूरा गर्न असफल मिसनका दुईवटा म्यादहरू (सन् २०१४ र सन् २०१९) समेत गुज्रिसकेका छन् ।हालसम्म मिसनले भारू २६६ करोड बराबरको रकम निकासा गरिसकेको छ जसमध्ये करिब २४७ करोडको खर्च भइसकेको छ ।
‘केशर मिसनले उत्पादकत्व बढाउन खासै मद्दत गरेन किनभने विभागको ध्यान केवल इनारहरू खन्नुमा र बिजुलीको नियमित आपूर्ति नगरी स्प्रिंकलरहरू जडान गर्नुमा थियो,’ उपत्यकाका केशर उत्पादकहरुको सङ्गठनका उपाध्यक्ष मोहम्मद युसुफ वानीले भने । उनले भने, ‘सरकारले डिजेल मोटर जडान गरिदियो तर डिजेलको खर्च भने किसानहरूले बेहोर्ने भनिदियो । यसको लागत धेरै नै छ, उत्पादन भन्दा पनि बढि ।’
कृषि विभागका निर्देशक अल्ताफ एजाज आन्द्राबीले विभिन्न अनपेक्षित समस्याहरूको सामना गर्नु परेको बताए । महामारीका कारण श्रमिकहरू उपलब्ध छैनन् र अचानक भएको बन्दाबन्दीका कारण पनि काम ढिलो भइरहेको उनले बताए । ‘खेतीका लागि उपलब्ध कुल जग्गा मध्ये हामीले ३३ प्रतिशतलाई सिँचाई योजनामा जोडिसकेका छौँ र बाँकी ६६ प्रतिशतका लागि आधारभूत पूर्वाधार विकास गरिसकिएको छ । सन् २०२० सम्ममा काम पूरा हुनेछ,’ उनले द थर्ड पोललाई बताए ।
‘भौगोलिक रुपमा मौलिक’ दर्जाले जगाएका आशाहरू
यस वर्षको मे महिनामा, काश्मीरी केशरलाई भौगोलिक संकेत रेजिस्ट्रीद्वारा भौगोलिक संकेत (जीआई) ट्याग प्रदान गरियो । उपत्यका बाहिरका कसैलाई पनि ‘काश्मीरी केशरको’ नामबाट केशर उत्पादन गर्न र बेच्न प्रतिबन्ध लगाउनका लागि जम्मू काश्मिर सरकारको कृषि निदेशालय, शेर–ए–काश्मिर कृषि विज्ञान तथा प्रविधि विश्वविद्यालय, काश्मिर, र केशर अनुसन्धान स्टेशन, दुसु (पाम्पोर)ले रेजिस्ट्रीमा संयुक्त निवेदन दिएका थिए ।
विश्व व्यापार सङ्गठन अन्तर्गतको बौद्धिक सम्पत्ति अधिकार सम्झौता (ट्रिप्स)को अनुच्छेद २२ (१) अनुसार, जीआई ट्याग संकेत यस्तो वस्तुलाई प्रदान गरिन्छ । जसको गुणस्तर, ख्याति वा विशेषता कुनै एउटा भौगोलिक क्षेत्रसँग जोडिएको छ । यस्तो ट्यागले सो वस्तुको उद्गम थलो त्यही क्षेत्र हो भन्ने पनि जनाउँदछ ।
‘जीआई ट्यागले काश्मीरी केशरलाई फेरि लोकप्रिय बनाउन मद्दत पुर्याउनेछ र यसका कारण मूल्य पनि बढ्नेछ । यसका कारण किसानहरू आर्थिक रुपमा लाभान्वित हुनेछन् । यसले ईरानी केशरलाई काश्मिरी केशर भनी बेच्नेहरूलाई निरूत्साहित गर्नेछ,’ अन्द्राबीले भने ।
वानी भने कम आशावादी छन्, ‘जब उत्पादन नै घट्दै गइरहेको छ र मिसनले किसानहरूलाई सहयोग नगरी म्याद गुजारी रहेको छ, यी सहायक पहलहरूले कसरी मद्दत गर्लान् ? उदाहरणको लागि जीआई ट्याग र आधुनिक उत्पादन विधिले तब फाइदा हुन्छ जब उत्पादन बढ्छ । उत्पादन तब मात्र बढ्न सक्दछ जब खेतमा उचित सिंचाई हुन्छ । तर सन् २०१० पछि यस्तो भएको छैन ।’
केशर फूल ।
केशर उत्पादनले सामना गर्नुपर्ने अर्को चुनौती भनेको किसानहरू माझ यसको बीउ परिवर्तन गर्ने अभ्यास न्यून हुनु हो । ‘काश्मिरमा उत्पादकहरूले प्रति हेक्टर दुई लाख २५ हजार बिउ रोप्दछन्, जबकि विज्ञानले पाँच लाख रोप्नुपर्ने बताउँछ,’ शेर–ए–काश्मीर कृषि विज्ञान र प्रविधि विश्वविद्यालयका एक केशर विज्ञ बशीर अहमद ईलाहीले भने ।
‘प्रत्येक चार वर्षमा किसानहरूले बीज परिवर्तन गर्नुपर्दछ। तर यहाँ उनीहरुले प्रत्येक ३० बर्ष पछि मात्रै परिवर्तन गर्दछन् र यसले उत्पादकत्व र गुणस्तरमा ह्रास आउँछ,’ उनले थपे । कुनै जमानामा फस्टाउँदो यो ‘सम्पदा’ बालीलाई पुनर्जीवित गर्ने यी प्रयासहरूले थोरै मात्रै आशा जगाउँदा जान जस्ता महिला किसानहरू सरकार भन्दा भगवानलाई सम्झन्छन् ।
करिब १२ औँ शताब्दीमा कश्मीर आएका र यस भूमिलाई आशिर्वाद दिएका दुई प्रसिद्ध सुफी सन्त ख्वाजा मसूद वली र शेख शरीफुद्दीन वलीको आशिषका कारण यस भूमिले अनुपम गुण भएको केशर उत्पादन गर्ने गरेको विश्वास उनका परिवारका अन्य महिलाहरू जस्तै जान पनि गर्छिन् ।
आद्रतामा निर्भर केसर खेतीमा राम्रो उत्पादनको लागि सिँचाई आवश्यक छ । ‘सन् २०१९ को नोभेम्बर महिनामा यहाँ राम्रो हिउँ पर्यो र यस वर्षको सेप्टेम्बरको पहिलो हप्तामा राम्रो पानी परेको थियो । मलाई विश्वास छ केहि राम्रो भएको छ, र यस वर्ष भगवानको कृपाले बाली राम्रो हुनेछ,’ राम्रो उत्पादनको लागि दैवी हस्तक्षेपको खोजी गरिरहेका आन्द्राबीले भने ।
– द थर्ड पोल
सत्यपाटी । ।