सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा बेवास्ता

अस्वस्थ ढकेरी स्वास्थ्य चौकी, ‘भित्ता चर्किए, छानो चुहिन्छ’

‘सर्प, बिच्छी लगायतका विषालु जीवहरुको डरले कोठाभित्र बस्दा पनि डराएर बस्नुपर्ने अवस्था छ ।’

बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य चौकीको नाममा एकतले टिनको टहरा, त्यसमा पनि चुहिने छानो अनि चर्किएको भित्ताबाट नियमित सेवा प्रवाहमा समस्या भएको हो ।

स्वास्थ्य चौकीका प्रमुख लङ्कबहादुर बटालाले वर्षा भएपछि पानी चुहिएर स्वास्थ्य सामग्री भिजाउने गरेका कारण सेवा प्रवाहमा धेरै समस्या हुने गरेको बताए । स्वास्थ्य चौकीका सिनियर अहेव लीलाराज ओलीले नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसारको भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताए ।

यहाँ सेवा दिने र लिने दुवैलाई अप्ठ्यारो परेको उनले बताए । काठको पटरा (फ्ल्याग)ले घेरेर बनाइएको भवनका भित्ता चर्किएका कारण बिच्छी तथा सर्प लगायतका विषालु जीव पस्ने भएकाले झन् समस्या थपिएको छ । ९ वटा कोठा रहेको भवनमा तीन कोठामा प्रहरी पोस्ट राखिएको छ । बाँकी ६ वटा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको छ ।

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु समेत सो भवनभित्र बस्न डराउने गरेको स्वास्थ्य चौकीका प्रमुख बटालाले बताए । उनले भने, ‘सर्प, बिच्छी लगायतका विषालु जीवहरुको डरले कोठाभित्र बस्दा पनि डराएर बस्नुपर्ने अवस्था छ ।’

भवनको जीर्ण अवस्था देखेर केही बिरामीले कार्यालयभित्र पसेर जाँच तथा उपचार गराउनुका सट्टा उपचारै नगरेर घर फर्कने गरेका छन् । लामो समयसम्म उपचार गराइराख्नुपर्ने, सलाइन दिनुपर्ने र मातृ परीक्षण सेवाका लागि आउने बिरामीलाई लामो समयसम्म राख्न सक्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कार्यालय समयभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । भवन मर्मत सम्भारका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि पुनः निर्माण त परै जाओस्, मर्मत सम्भार पनि हुन नसकेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । यही जीर्ण भवनबाटै बिरामीको जाँच तथा परीक्षण हुने गरेको छ ।

स्टोर, प्रयोगशाला ओपीडी दर्ता, बिरामी जाँच, ड्रेसिङ रुम साँघुरो हुँदा सेवा प्रवाहमा समस्या झेल्नुपरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले स्वास्थ्य चौकी भवन निकै पुरानो र जीर्ण अवस्थामा पुगेकाले भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट माग गरिएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०९:४३