जिल्ला प्रशासन कार्यालय गुल्मीको मुख्य गेटमा भुस्याहा कुकुरको भीड धर्ना बसेझैं देखिएको छ । सदरमुकाम तम्घास मुख्य बजार र जिल्ला प्रशासन कार्यालय आसपास भुस्याहा कुकुरको बिगबिगी बढेको छ ।
स्थानीय बासिन्दाले विद्यालय जाने ससाना बालबालिकालाई झम्टिने तथा टोक्ने समस्या पनि बढेको र सवारी दुर्घटनासमेत बढेको गुनासो गरेका छन् । रातभर भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाएको बजारवासीको दुखेसो छ ।
स्थानीय व्यवसायी जनक पन्तले बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिकाले चासो नदेखाएको गुनासो गरे । ‘मर्निङ वाक’ गर्न र बाइक चलाउन पनि समसया भएको उनको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा देखिएको भुस्याहा कुकुरको समस्या समाधान गर्न सहकार्य गरेर कदम चाल्ने बताए । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्या समाधान गर्न योजना बनाइसकेको बताए ।
सत्यपाटी । गुल्मी ।