सूचनाको शक्ति - The Power Of Information

        

इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी

इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा पाकिस्तानले ३–२ को अग्रता बनाएको छ । यसअघि दोस्रो र चौथो खेलमा पाकिस्तान विजयी भएको थियो ।

पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटाैँ खेल भोलि शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आइतवार हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०८:०२