सूचनाको शक्ति - The Power Of Information

        

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ ।

बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले दशैँअगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गरिरहेको छ ।

सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँट र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ  ।

गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन ।

अध्यक्ष केपी ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन् । ६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ ।

एमालेले चुनावी घोषणापत्र पनि टुंग्याउने तयारी गरेको छ  ।

साउन २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो  । समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल सदस्य छन्  । त्यस्तै, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल मस्यौदा कमिटीमा छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०८:००