सूचनाको शक्ति - The Power Of Information

        

काल बन्दै डेंगु : एकैदिन ४ जनाको मृत्यु

लुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

यो सँगै साउन यता साढे २ महिनामा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार याे वर्ष अहिलेसम्म २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न चिकित्सकहरुले सुझाएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १८:२६