सूचनाको शक्ति - The Power Of Information

        

हार्दिक श्रद्धासुमन केदार दाइ !

जसको कलमले जनमत संग्रह घोषणा गर्न राजालाई बाध्य बनायो

राजा वीरेन्द्र हरेक दिन बीबीसी अंग्रेजी समाचार सुन्थे । पञ्चायती व्यवस्थाविरूद्ध देशैभर आन्दोलन चर्किरहेको खबरले राजा वीरेन्द्रमा चिन्ता बढिरहेको हुन्थ्यो ।

देवेन्द्र दाइलाई श्रद्धाञ्जलि अर्पण गरेको एक साता पनि नबित्दै अर्का श्रमजीवी पत्रकार केदारमान दाइलाई बिदा गर्नुको पीडा शब्दमा व्यक्त गर्न सकिन्न । नेपालको लोकतान्त्रिक आन्दोलनमा छापा माध्यमको तर्फबाट देवेन्द्र दाइले पुर्याउनुभएको अतुलनीय योगदान र केदारमान दाइले विदेशी सञ्चार माध्यमबाट पुर्याउनुभएको योगदानको साक्षी हो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।

नेपालको राजनीतिक इतिहासमा जति पनि राजनीतिक परिवर्तन भएको छ, त्यसमा सञ्चार माध्यमको प्रमुख भूमिका छ । राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गरेर नेपाली जनतामाथि निरंकुश पञ्चायती व्यवस्था लादेको दिनदेखि निरन्तर ३० वर्षसम्म लोकतन्त्रका लागि नेपाली प्रेसले संघर्ष गर्दै आयो । पार्टीमाथि प्रतिबन्ध, नेताहरू जेल, नेल र भूमिगत भएको अवस्थामा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली प्रेस सबैको सहारा बन्यो । त्यही क्रममा २०३५–३६ को आन्दोलनमा जोडिनु भयो, देवेन्द्र दाइ र केदारमान सिंह ।

यी दुवै निडर स्वभावका स्वाभिमानी पत्रकार थिए, जसको नाम लिनासाथ पञ्चायती निरंकुश शासकहरूको मुटु हल्लिन्थ्यो । २०३५–०३६ सालको विद्यार्थी आन्दोलन निरंकुश राजतन्त्रको घुँडा टेकाउन सुरू गरिएको आन्दोलन थियो । त्यसलाई निर्णायक बनाउन पत्रकारका यी दुई हस्तीले जति योगदान पुर्याए, सायद त्यति योगदान नेताहरूले पनि पु¥याउन सकेका थिएनन् । राजा वीरेन्द्र हरेक दिन बीबीसी अंग्रेजी समाचार सुन्थे । पञ्चायती व्यवस्थाविरूद्ध देशैभर आन्दोलन चर्किरहेको खबरले राजा वीरेन्द्रमा चिन्ता बढिरहेको हुन्थ्यो ।

हरेक समाचारको विषयमा राजा वीरेन्द्रले दरबारमा ब्रिफिङ लिन थालेपछि केदारमान दाइलाई बहुदलको समाचार सम्प्रेषण नगर्न धम्की आउँथ्यो । एक दिन त मण्डलेहरूले उहाँको भोटेबहालस्थित घरमै आगो लगाउने धम्कीसमेत दिए । बीबीसीको समाचारबाट आत्तिएका राजा वीरेन्द्रले मार्क टेलीसँग भेट्ने इच्छा जाहेर गरे । केदारमान दाइले यो सूचना मार्क टेलीलाई नयाँदिल्लीमा पठाए । मार्क टेली राजा वीरेन्द्रको अन्तर्वार्ता लिन काठमाडौं आए । केदारमान दाइले आफ्नै गाडीमा मार्क टेलीलाई दरबार पुर्याए ।

मार्क टेलीलाई राजा वीरेन्द्रसँग भेट्ने बेला मार्क टेलीलाई मात्र भित्र लगेर गए । केदारमान दाइलाई बाहिर सचिवको कोठामा कुराए । यो अपमानले दरबारप्रति केदारमान दाइको मनमा विद्रोह उत्पन्न गरायो । त्यसपछि केदारमान सिंहको शब्दले बीबीसीमा आगो ओकल्न थाल्यो । धेरैलाई सम्झना होला, जब बेलुकी बीबीसी हिन्दी सेवाबाट ‘काठमाण्डूसे केदारमान सिंहका रिपोर्ट…’ भन्ने उद्घोष हुन्थ्यो, तब देशैभरिको कान ठाडो हुन्थ्यो । निडर, हक्की स्वभावका केदार दाइको हरेक रिपोर्ट आन्दोलनको पक्षमा हुन्थ्यो । जसले आन्दोलनकारीलाई ऊर्जा प्रदान गथ्र्यो ।

अन्ततः जनमत संग्रह घोषणा गर्न राजा वीरेन्द्र बाध्य भए । आन्दोलनको समाचार सम्प्रेषण गर्ने बेला केदारमान दाइले नेपाल पोष्टका सम्पादक देवेन्द्र गौतम पक्राउ परेको धेरै घटना उल्लेख गरेका थिए । सरल भाषा, स्पष्ट सन्देश उहाँको मौलिकता थियो । पुष्पलालसँग अंग्रेजी ट्युसन पढेका केदारमान दाइको मनपर्ने नेता मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई थिए । आन्दोलनको बेला यी नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर समाचार सम्प्रेषण गर्थे । कतिपय पत्रकार सम्मेलन सुरू गर्नुभन्दा अगाडि किसुनजी र गणेशमान सिंहले खोइ, केदारमान आएको छैन ? भनेर माथवरसिंह बस्नेतलाई सोध्ने गर्नुहुन्थ्यो ।

केदारमान नआइकन कांग्रेसको पत्रकार सम्मेलन सुरू नै हुँदैनथ्यो । यसले पनि त्यतिबेला सञ्चारमाध्यमप्रति नेताहरूको कतिसम्म सम्मान थियो भन्ने बुझिन्छ । नेपाली जनताको संघर्ष र बलिदानपश्चात २०४६ को संयुक्त जनआन्दोलन सफल भयो । पञ्चायत निरंकुश व्यवस्थाले घुँडा टेक्यो । नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा पत्रकारको रूपमा सरिक भएर नेपालको बहुदल घोषणा हुँदा केदारमान दाइ अत्यन्त खुसी हुनुभयो ।

३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपालमा प्रजातन्त्रको युग सुरू भयो । अब त देशले आर्थिक विकासको बाटो समाउला भन्ने आशा उहाँमा थियो । हेर्दाहेर्दै सबै नेता गन्हाउन थाले । पञ्चायतभन्दा विकृति बहुदलमा मौलाउन थाल्यो । त्यही विकृति र विसंगतिले माओवादीलाई मलजल गर्यो । देश हेर्दाहेर्दै गणतन्त्रमा प्रवेश गर्यो । हरेक आन्दोलन र क्रान्तिले नायक जन्माउँछ । २०४६ सालको संयुक्त जनआन्दोलनले सर्वोच्च नेता गणेशमान सिंह जन्मायो । तर, उनको त्याग, तपस्या र बलिदानबाट नेपाली कांग्रेसका नेताहरूले शिक्षा लिएनन् । कांग्रेस पतन हुँदै गयो ।

२०६२–६३ सालको आन्दोलनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जन्मायो तर, प्रचण्डले जनयुद्धको एजेण्डा बिर्सदा माओवादी पतनको बाटोमा लाग्यो । भारतीय नाकाबन्दीताका केपी ओली जन्मिए । ओलीले केही गर्लान् भनेको ओली पनि असफल र नालायक भएको केदार दाइको विश्लेषण थियो । नाकाबन्दीको समय केदार दाइले फोन गरेर भन्नुभयो, खाना पकाउन ग्यास छैन, अस्पताल जान पेट्रोल छैन । एउटा छोरा अमेरिका बस्छ । बूढा र बूढी घरमा छौं । जीवनमा यति साह्रो–गाह्रो कहिले परेको थिएन । यसरी बाँच्नुभन्दा त मर्नु बेस । मर्नका लागि पनि केही चाहियो । ओलीलाई भनेर विष पठाइदिनु शम्भु भाई ।

हार्दिक श्रद्धासुमन केदार दाइ !

दृष्टिन्यूजबाट

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार २०:११