सूचनाको शक्ति - The Power Of Information

        

मङ्सिर ४ काे चुनाव :

निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने, के गर्न पाइँदैन

(पूर्ण पाठसहित)

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले भोलि बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।

आज मङ्गलवार बसेको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।

निर्वाचन आचारसंहिता राजनीतिक दलदेखि सरकारी तथा गैरसरकारी निकाय, मतदातासम्मका लागि लागू हुन्छ ।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र निकायका पदाधिकारी, सङ्घ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई लागू हुन्छ । यस्तै राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मीलगायतलाई पनि आचारसंहिता लागू हुन्छ ।

के गर्न पाइँदैन–

– सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा          गराउन नहुने

– कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने

– राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टी–शर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटु जस्ता साङ्केतिक    सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने

– बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने

– निषेध गरिएको समय र ठाउँमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा चुनाव प्रचारप्रसार गर्न वा गराउन नहुने

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १८:१३