सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुशी भएका छन् ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउँबाटै सेवा पाएपछि खुसीले गदगद भएका छन् । उनीहरुको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

८५ बर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए । उनले बैंकमा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बताए । ७५ बर्षीया सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरु जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालयमा पुगेका नगर प्रमुख विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।

उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।

उपप्रमुख राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताए ।

राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिए ।

उनले अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरिएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १८:०४